अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तीकरण
काठमाडौं। आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस। हरेक वर्ष मार्च ८ का दिन मनाइने यो दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा पनि चिनिन्छ। यस अवसरमा देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।
‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालमा पनि सरकार, सरोकारवाला निकाय एवं विभिन्न महिला संगठनले कार्यक्रम आयोजना गर्दै छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। राजनीतिक दलसम्वद्ध महिला संगठनहरुले पनि यस अवसरमा कार्यक्रम आयोजना गरेका छन्।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैंगिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्य दिवसको छ ।
नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ।
संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढ्दै गएको छ।
संघीय संसदमा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र स्थानीय तहमा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन्। यसैगरी, निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ।
सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ राखिएको थियोर
सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। सोही प्रदर्शनपछि संसारभर महिला अधिकारको बारेमा चर्चा हुन थालेको हो।
