मोरङ एमालेमा संस्थापनइतर पक्षको प्यानल निर्वाचित
विराटनगर। नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशनबाट संस्थापनइतर पक्षको प्यानलै निर्वाचित भएको छ। अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका छन्।
पार्टीको संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, सहसचिवमा इर्जालाल राजवंशी र महिला सहसचिवमा शिल्पा निराला कार्की चुनावी मैदानमा थिए। उनीहरु इतर पक्षसँग पराजित भएका छन्।
अध्यक्षमा राईले प्रतिस्पर्धी संस्थापन पक्षका ओझालाई ३९ मतान्तरले हराए। राईले ४ सय ४६ मत पाए भने ओझाले ४ सय ७ मत प्राप्त गरे। उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन्। सचिवमा सोमराज थापाले ४ सय ६१ मत ल्याए भने प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरे।
उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० मत ल्याए भने प्रतिस्पर्धी इर्जालाल राजवंशीले ३ सय ११ मत ल्याए। महिला उपसचिवमा उषा झा निर्वाचित भइन्। उनले ४ सय १८ मत ल्याइन् भने प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन्।
अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो। नेतत्व चयनका लागि भएको मतदानमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए।
