धरानको बीपी प्रतिष्ठानमा तरकारी बजार बनाउन अदालतको रोक
विराटनगर। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठानको जग्गामा तरकारी बजार निर्माण गर्ने काममा अदालतले रोक लगाएको छ।
उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाले बीपीको जग्गामा बनाउन सुरु गरेको तरकारी बजार निर्माणमा रोक लगाएको हो । उच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै उक्त जग्गामा तरकारी बजार बनाउन रोक लगाएको छ। न्यायाधीश ध्रुवराज नन्दको इजलासले ‘अन्तिम टुंगो नलागेसम्म कुनै पनि संरचना निर्माण नगर्नु नगराउनू’ भनी अन्तरिम आदेश जारी गरेको हो ।
धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले बीपी प्रतिष्ठानको ‘ग्रीनवेल्ट’ मार्गमा तरकारी बजार बनाउन सुरु गराएका थिए। बीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले प्रतिष्ठानको जग्गामा संरचना नबनाउन मेयर साम्पाङलाई आग्रह गरेका थिए। मेयर साम्पाङले कर्मचारीसँग कुरा नगर्ने भन्दै उनको आग्रह अस्वीकार गरेका थिए।
धरानभित्र प्रतिष्ठान रहेको दाबी गर्दै मेयरले संरचना बनाउने अडान लिएपछि संग्रौलाले उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालतले विपक्षी धरान उपमहानगरपालिका, मेयर साम्पाङ र प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशसमेत दिएको छ।
‘विपक्षी उपमहानगरपालिकाले तरकारी बजारको लागि शिलान्यास गरेको उल्लेखित जग्गा ‘ग्रिनवेल्ट’ एरिया हो वा स्थानीय सरकारको क्षेत्राधिकारभित्रको जग्गा हो भन्ने विवादित अवस्थामै भौतिक संरचना निर्माण हुँदा निवेदकलाई पर्न जाने असुविधा, क्षति र स्वास्थ्य क्षेत्रको संवेदनशीलतासमेतलाई दृष्टिगत गर्नुपर्ने स्थिति देखिएकोले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न उपयुक्त हुने देखियो,’ अदालतले भनेको छ, ‘अतः प्रस्तुत अन्तरिम आदेशबाट विपक्षी धरान उपमहानगरपालिकालाई कुनै प्रकारको असर वा अपूरणीय क्षति पर्न जाने स्थिति सृजना भएमा उक्त विपक्षीले प्रमाणसहित प्रस्तुत आदेशको निष्क्रियताका लागि निवेदन माग गरेका बखत यस अदालतबाट पछि विचार गरी आदेश हुन सकने नै हुँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदक प्रतिष्ठानको नाममा दर्ता कायम रहेको सर्भे नक्सामा देखिएको कि. नं. १३ को जग्गाभित्र पर्ने गरी कुनै प्रकारको संरचना निर्माण नगर्नु, निवेदकलाई प्रयोग चलनमा अवरोध नगरी यथास्थितिमा राख्नू।
