एमाले मोरङ अधिवेशन : मतदान प्रक्रिया सरेको सर्यै
विराटनगर। सत्तारुढ पार्टी नेकपा (एमाले) मोरङ जिल्ला समितिको नयाँ नेतृत्व छान्न गरिने भनिएको मतदान फेरि सरेको छ। १०औं जिल्ला अधिवेशन जारी रहँदा मंगलबार मतदान हुने तय भएको थियो।
प्राविधिक कारण देखाएर मतदान सारिएको भए पनि सहमतिको प्रयास गर्ने क्रममा बुधबार बिहानसम्म मतदान सारिएको नेताहरुले बताएका छन्।
मतपत्र छपाइमा समय लाग्ने भन्दै निर्वाचन समितिले मतदानको समय पुनः सारेको छ। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बुधबार बिहान ७ बजेबाट विराटनगरको होटल मनास्लु इनमा मतदान सुरु हुनेछ ।
मतदानको समय बुधबार बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्मलाई तोकिएको छ। ५ जना पदाधिकारीसहित १ सय ६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेको जानकारी श्रेष्ठले दिए।
३ सय २५ जनाले मनोनयन दर्ता गरेकामा ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। चुनावी प्रतिस्पर्धामा अब १ सय ९१ जना छन्।
अधिवेशनमा केन्द्रिय अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ।
यस्तै, इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्। इतर पक्षको नेतृत्व नेता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर मानिने विनोद ढकालले गरिरहेका छन्।
