एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिए युवायुवती

विराटनगर। मोरङको पथरीशनिश्चरेमा विवाहित युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। आज मंगलबार बिहान पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाकिनार रहेको पिठारीको रूखको हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेका हुन्।

पथरीस्थित इलाका प्रहरी कार्यालयका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर, मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा मृत भेटिएका हुन्। नाइलनको एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

डीएसपी दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना विवाहित रहेको खुलेको छ। सूचना पाएपछि डीएसपी दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ।

अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा छन्। डीएसपी दाहालका अनुसार अयजले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको खुलेको छ। अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीको भनाइ छ।

सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने डीएसपी दाहालको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *