विद्यार्थी किन कमजोर ? दोष शिक्षककै मात्र?

शिक्षाको अवस्था बुझ्दा दिमाग नै तिलमिलाउने अवस्था बनेको छ। किन यस्तो भइरहेको छ? किन र के कारणले विद्यार्थी कमजोर हुँदै गएका छन्? यसमा कुन कुन पक्षको कमी कमजोरी छ? यही सेरोफेरोमा यहाँ केही चर्चा गरिएको छ।

प्रसङ्ग शिक्षा, शिक्षक, विद्यार्थी र अभिभावकको हो। केही दशक अघिसम्म परीक्षामा उत्तीर्णाङ्क राख्ने गरिन्थ्यो। विद्यार्थीले उत्तीर्ण हुनका ३२% अङ्क ल्याउनुपर्थ्यो, अर्थात् त्यसबेला ३२ नै उत्तीर्णाङ्क थियो।

कक्षा १० को अन्तिम परीक्षा सरकारको मातहतमा हुन्थ्यो र त्यो परीक्षा नियन्त्रण कार्यालयले एकैचोटि देशव्यापी रूपमा सञ्चालन गर्थ्यो। त्यसको परिणाम निकाली परीक्षार्थीहरूलाई आधिकारिक प्रमाणपत्र दिने गरिन्थ्यो।

त्यसबेला त्यो परीक्षा नै एसएलसी परीक्षा भनिन्थ्यो। केहीपछि १ विषयमा उत्तीर्णाङ्क पुगेको छैन र त्यस विषयमा २७ अङ्क आएको छ भने ५ ‘ग्रेसमार्क’ थपेर उत्तीर्ण गराइन्थ्यो। (२८, २९, ३० र ३१ भएमा झन् सजिलो गरी ‘ग्रेसमार्क’ थपेर उत्तीर्ण गराइन्थ्यो)।

त्यसबेला कम्तीमा ६०% अङ्क ल्याउने परीक्षार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएको मानिन्थ्यो र ऊ निकै जान्ने नै हुन्थ्यो। प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी मात्र होइन, तिनका अभिभावक र शिक्षकहरूसमेत विशेष गौरवको अनुभव गर्दथे। ती विद्यार्थी उच्च शिक्षामा पनि राम्रै अङ्क ल्याएर उत्तीर्ण हुन्थे। तीमध्ये धेरै प्रतिशत रोजगार पनि हुन्थे, मुलुकमै रहन्थे।

अहिले परीक्षामा ग्रेडेड, ननग्रेडेड भन्ने थिति ल्याइएको छ। पहिला थरी उत्तीर्ण हुन् भने दोस्रा थरी पुनः परीक्षा दिनुपर्ने हुन्। (परीक्षाफल निस्केको १ महिनापछि पुनः परीक्षा हुन्छ र तीमध्ये निकै जना ग्रेडेड भई कक्षा ११ मा भर्ना हुन योग्य मानिन्छन्)।

दुई वर्ष अघिसम्म दुइटा विषयमा ननग्रेडेड विद्यार्थीले मात्र त्यो परीक्षा दिन पाउँथे, तर गत वर्ष जति विषयमा ननग्रेडेड भए पनि स्तरवृद्धि परीक्षामा सामेल हुन पाउने भनियो र सबैले त्यो परीक्षा दिन पाए। परिणाम कस्तो आयो, हामी सबैले देखेकै छौँ।

पहिलेको एसएलसी परीक्षा अहिले एसईई हुन पुगेको छ।

विद्यालयहरू क्रमशः सुविधासम्पन्न बनाइएका छन्, बनाइँदै छन्। शिक्षक सेवा आयोग उत्तीर्ण गरेका विषयगत क्षमता भएका युवा शिक्षकहरू छन्। विद्यालयलाई व्यवस्थित रूपले सञ्चालन गर्ने भनेर प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति बनाइएका छन्।

त्यतिले मात्र नपुगेर पठनपाठनमा शिक्षकहरूलाई उत्प्रेरित गर्नका लागि शिक्षक अभिभावक संघ पनि छन्। यस्तो प्रयत्न हुँदाहुँदै पनि किन विद्यालयहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्?

के यसका जिम्मेवार शिक्षकहरू मात्रै हुन् त? अरू त अरू भइहाले, राज्यको उपल्लो तहमा बसेकाहरूसमेत परीक्षामा अपेक्षित परिणाम नआउनाका पछाडि शिक्षकलाई मात्र जिम्मेवार देख्दा रहेछन्। यो समस्याको गम्भीर विश्लेषण गर्न नसक्नाको परिणाम हो। यदि परीक्षामा उल्लेख्य संख्यामा विद्यार्थी उत्तीर्ण नहुनाका कारण मिहिन किसिमले खोजिन्थ्यो भने यी कुरा भेटिन्थे–

–देशका सबै विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरू नै पुगेका छैनन् (कर्णाली प्रदेशमा यो समस्या झन् टड्कारो रूपमा देख्न सकिन्छ, अन्य प्रदेशको पहाडी भागमा पनि यसको असर केही न केही रूपमा परेकै छ)। अनि कसरी उत्तीर्ण हुन्छन् विद्यार्थी?

–अभिभावकहरूले घरमा आफ्ना सन्तानलाई जुन निगरानी राख्नुपर्ने हो, त्यो राखेको देखिँदैन। अधिकांश बालबालिका जतिखेरै मोबाइलम घोत्लिएका देखिन्छन्। खोइ, यस कुरालाई राज्यले देख्न सकेको?

–विद्यार्थी जीवनमा कडा मेहनत गरे मात्र भविष्यमा केही गर्न सकिन्छ भन्ने विश्वास क्रमशः क्षीण हुँदै गएको छ। कसरी थोरै परिश्रम गरेर बढी देखावटी उपलब्धि हासिल गर्न सकिन्छ भन्ने चिन्तन सर्वत्र हाबी हुँदै गएको छ। अनि कसरी देखिन्छ राम्रो परीक्षाफल?

–प्रविधिको प्रयोग गर्ने तरिकाबारे स्पष्ट हुन नसक्नाले पनि यसबाट अपेक्षित परिणाम निस्कन नसकेको हो कि?

–दुर्गम पहाडी जिल्लामा समयमा पाठ्यपुस्तक नै पुग्दैनन्। अनि कसरी उत्तीर्ण हुन्छन् विद्यार्थी?

–ज्यान जोखिममा राखेर तुइनबाट ओहोरदोहोर गर्नुपर्ने अवस्थाका विद्यार्थीहरूको कस्तो मनस्थिति होला र तिनले ध्यान दिएर अध्ययन गर्न सक्लान्?

–शिक्षा ऐन पारित गरिँदैन, त्यसैलाई लिएर कैयौँको राजनीति चल्दै छ कि भन्ने सर्वत्र शङ्का उब्जिएको छ। शिक्षा नीतिबिनाको पाठ्यक्रम र पाठ्यपुस्तकको भरले मात्र अपेक्षित परिणाम आउँछ भन्ने सोच्नु पनि मूर्खता नै हुनेछ।

–मुलुकमै आफ्नो भविष्य छ भनेर अध्ययनमा कडा परिश्रम गर्नुभन्दा सानैदेखि विदेशै जाने मनस्थितिले काम गर्न थालेकाले विद्यार्थीको आवश्यक प्रयत्न नै नपुग्ने देखिएको छ।

–यदि अभिभावक, विव्यस, शिअसं, समाज र सरकारले विद्यालयीय शिक्षामा आआफ्नो जिम्मेवारी पूरा गर्थे भने र त्यति गर्दा पनि परिणाम राम्रो निस्कँदैनथ्यो भने त्यसमा शिक्षकतिर पनि हेर्नुपर्ने हुन्थ्यो अर्थात् उनीहरूलाई यसको जिम्मेवार बनाउन मिल्थ्यो भन्ने लाग्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *