मोरङ एमालेमा १६५ पदका लागि ३२५ जनाको मनोनयन

विराटनगर। सत्तारुढ पार्टी नेकपा (एमाले) मोरङको १०औं अधिवेशनका लागि ३ सय २५ जनाको उम्मेदवारी परेको छ। ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कार्यसमितिका लागि ३ सय २५ जनाले मनोनयन दर्ता गराएका हुन्।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार निर्वाचन कमिटीले सोमबार राति उम्मेदवारको नामावली प्रकाशन गरेको हो। आज मंगलबार बिहान दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम रहेको उनले जानकारी दिए।

नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिएका थिए। सहमति हुन नसकेपछि ्नेतृत्व चयनका लागि मतदान हुने भएको हो।

फागुन १७ गते शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी भए पनि मनोनित प्रतिनिधिको विषयमा विवाद चर्किए्पछि अधिवेशन लम्बिएको हो।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इजालाल राजवंशीको उम्मेदवारी परेको छ।

यस्तै, इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्। इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन्।

अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छानिएका छन्। नयाँ नेतृत्व चयानका लागि प्रतिनिधिले मतदान गर्ने छन् । मतदानपछि विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा मतगणना हुने पार्टीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *