प्रधानमन्त्री कप क्रिकेट छनोटमा इलाम र सुनसरी विजयी

विराटनगर। प्रधानमन्त्री कप– २०८१ छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएका छन्।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो। इलामका लागि जितमा शिवान्स बजगाईँले सर्वाधिक ४० रनको योगदान दिए। उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए।

१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५३ रनमा सीमित भयो। उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए। इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुङ्गाना र वि कामतले २–२ विकेट लिए।

यस्तै, कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा बैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सीमित भएको थियो।

झापाका लागि आशिष राना मगरले सर्वाधिक १३ रनको योगदान दिए। सुनसरीका प्लेयर अफ म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए।

६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो। सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए। झापाका सिद्धान्त कमितले ३ विकेट लिए।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *