विराटनगरमा प्रधानमन्त्री कप छनोट प्रतियोगिता सुरु
विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप-२०८१ छनोट प्रतियोगिता आइतबार विराटनगरमा शुरु भएको छ।
विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन्। वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य रनमा सीमित भयो। उदयपुरका लागि प्रभात किरणले सर्वाधिक २६ रनको योगदान दिए। मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ५ विकेट लिँदा दिपेश कँडेल र मिनस थापाले २–२ विकेट लिए।
७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १५ ओभरमा बिना क्षति सो लक्ष्य पार गरेको थियो। मोरङको जितमा सकिवहकले अविजित ३६ रन बनाउँदा चिराग साहले अविजित ३१ रनको योगदान दिए।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाई ९२ रनको सामान्य योगफल बनायो।
सुनसरीका लागि सुमन घतानीले सर्वाधिक ४२ रनको योगदान दिए। प्लेयर अफ म्याच इलामका हेमन राई ७ विकेट लिए।
९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सवै विकेट गुमाई ५४ रनमा सीमित भयो। इलामका शिवान्स बजगाईले सर्वाधिक १६ रनको योगदान दिए। सुनसरीका प्रकाश खत्रीले ४ विकेट लिँदा भुपाल लुइटेलले पनि ४ विकेट लिए।
लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागी रहेको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए। बिहीबारसम्म हुने खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप–२०८१ का लागि छनोट गरिने उनले बताए।
