सहिद भीमनारायण गोल्डकप चैत तेस्रो साता

धनकुटा। सहिद भीमनारायण गोल्डकप चैत १७ देखि सुरु हुने भएको छ। तल्लो टुँडिखेलमा हुने प्रतियोगिताका लागि तयारी थालिएको आयोजकले जनाएको छ।

भीमनारायण गोल्डकपको यो १७औँ संस्करण हो। आयोजक भीमनारायण स्मृति प्रतिष्ठानका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टिम सहभागी हुने छन् ।

सहभागी हुने टिमहरुको नामावली चाँडै सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिता आयोजनाका लागि करिब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानका अनुसार विभिन्न १९ वटा उपसमिति गठन गरी धमाधम तयारीका काम भइरहेको छ।

विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन्।

अघिल्लो वर्ष सम्पन्न १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले हात पारेको थियो।

२०५५ देखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ। श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *