शुक्रबार करफोकमा कन्दरा ब्यान्डको कन्सर्ट
इलाम। लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ ले इलामको करफोकमा सांगीतिक प्रस्तुति दिने भएको छ। ग्याल्पो ल्होछारको अवसरमा शुक्रबार सूर्याेदय नगरपालिका–१२ स्थित करफोक खेल मैदानमा प्रस्तुति दिन लागेको हो।
कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘विदेशिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन्।
पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै स्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ।
कार्यक्रम सूर्याेदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजनामा हुन लागेको हो। संघका अध्यक्ष प्रज्वल प्रधानले स्थानीय पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम आयोजना गरिएको बताए।
ब्याण्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठले ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको बताए।
भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट पनि दर्शक आउने जानकारी पाएको उनले बताए। पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ।
पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ। बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ। चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुञ्जिने ब्याण्डको तयारी छ।
ब्याण्डमा गायक विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा सम्मिलित छन्।
