२५ औं वर्षमा समताः शिक्षामा समानताको उज्यालो दीप
शिक्षा सहज र सुलभ रूपमा उपलब्ध हुनुपर्ने हो। धेरै देशमा यस्तो सुविधा छ। नेपालमा भने शिक्षा हासिल गर्ने विषय एक हिसाबले जटिल अनि अत्यन्त महंगो भइरहेको छ। कम आय भएका अनि मध्यम वर्गले आफ्ना बालबालिका पढाउन ऋणै काढ्नु पर्ने अवस्था समेत देखिएको छ।
यस्तो अवस्थामा शिक्षालाई प्रमुख प्राथमिकता दिंदै निःशुल्क र सर्वसुलभ बनाइनुपर्नेमा त्यसो हुन सकेको छैन। उच्च शिक्षा त अझ चर्को हुँदै गइरहेको छ। गुणस्तरीय अध्ययन, अध्यापन गराएर योग्य नागरिक उत्पादन गर्नुपर्ने दायित्व राज्यबाट गम्भीर रुपमा पालना हुन सकेको देखिंदैन। कहिले पाठ्यपुस्तक अभाव, कहिले निरन्तर पढाइमा बाधा जस्ता अनेक पक्षका कारण शिक्षा लिने, दिने काम प्रभावित हुँदै आएको छ।
यस्तो अवस्थामा अढाइ दशकअघि सुरु भएको एउटा अभियानले भने फरक चित्र प्रस्तुत गरेको छ। यो अभियान हो– समता।
‘सबैका लागि समान र गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ सन् २००१ मा काठमाडौंको नयाँ बस्तीबाट सुरू भएको समता स्कुल फागुन १५ गतेबाट स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ। न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने संस्थापक उत्तम सञ्जेलको सपना नेपालभर एक विशाल अभियानका रूपमा स्थापित भइसकेको छ।
शिक्षामा क्रान्ति
शिक्षा कुनै वर्ग विशेषको सम्पत्ति होइन, हरेक बालबालिकाले समान अवसर पाउनु पर्छ भन्ने विश्वाससहित अघि बढेको समता स्कुल अहिले नेपालका अधिकांश जिल्लामा सञ्चालनमा छ। नर्सरीदेखि स्नातकोत्तरसम्मका कक्षाहरूमा न्यून शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो विद्यालय शिक्षाको क्षेत्रमा नयाँ क्रान्ति बनेको छ।
आज हजारौं विद्यार्थीहरू समता स्कुलबाट अध्ययन गरी स्वास्थ्य, प्रविधि, शिक्षा, प्रशासन, उद्यमशीलता, समाजसेवा लगायतका विभिन्न क्षेत्रमा सफलता हासिल गर्दै देश तथा विदेशमा नेपालको नाम उज्वल पारिरहेका छन्।
देशका समता स्कुलहरूले एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्नुका साथै बिबिध शैक्षिक उपलब्धिहरू, खेलकुद तथा अन्य सह–पाठ्यक्रम गतिविधिहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय पहिचान
समता स्कुलको २५ वर्षे योगदानलाई अन्तर्राष्ट्रिय रूपमा समेत पहिचान मिलेको छ। बेलायतबाट प्रदान गरिने प्रतिष्ठित ‘वर्ल्ड बुक अफ रेकर्डस्’ बाट सम्मानित भएको समता स्कुल नेपालकै विद्यालयहरूमध्ये एक बनेको छ, जसले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ।
संस्थापकको प्रतिबद्धता

२५ औं स्थापना दिवसको अवसरमा संस्थापक उत्तम सञ्जेलले समता अभियानलाई सफल बनाउन साथ दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले समता स्कुललाई समयसापेक्ष बनाउन, शिक्षण पद्दतिलाई अझ परिस्कृत गर्दै प्रविधिसँग समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शिक्षाको उज्यालो भविष्य

आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट बञ्चित हुनु हुँदैन भन्ने अवधारणालाई मूर्तरूप दिन समता स्कुलले नेपालमा नै सम्भवतः सबैभन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयको पहिचान स्थापित गरिसकेको छ।
समता स्कुलको २५ वर्षे यात्रा सपना देख्ने मात्र होइन, त्यसलाई साकार पार्न दृढ इच्छाशक्ति र समर्पण आवश्यक छ भन्ने प्रेरणादायी कथा हो। जब शिक्षा महंगो हुँदै गएको छ, समता स्कुलको यो अभियान शिक्षामा समानताका लागि एक ज्योति बनेर बलिरहेको छ।
अब, यो अभियान अझ सशक्त बनाउने जिम्मेवारी हामी सबैको हो। समता स्कुलको उज्यालो यात्रामा तपाईं हाम्रो अझै महत्त्वपूर्ण साथ रहोस्।

गज्जब राम्रो लेख।
Thank you Umesh Sir for your compliment.