पहिरोले खाँदबारी-किमाथांका सडक अवरूद्ध
संखुवासभा। सुक्खा पहिरो झरेपछि संखुवासभाको उत्तरी भोटखोला क्षेत्र जोड्ने कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडक अवरुद्ध बनेको छ। पहिरो खसेसँगै आज सोमबार बिहानबाट सवारी आवागमन प्रभावित बनेको हो।
पहिरोले सडक पुरेपछि यातायातका साधन चल्न सकेका छैनन्। भोटखोलाको हटिया र हुङगुङबीचमा पहिरो झरेर सडक अवरुद्ध भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए। पहिरोसँगै सडकमा ठूला ढुंगा खसेका छन्।
पहिरो खसेको स्थान सदरमुकाम खाँदबारीबाट १ सय ९ किलोमिटर टाढा छ। सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिरोले करिब ३० मिटर सडक पुरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए।
प्रतिक्रिया
