आमाको दूध, हात्ती अनि ऊँटको दूध कस्तो?
दूध पोषिलो पेय हो। हुर्कँदो उमेरका ससाना बालबालिकाका लागि आमाको दूध अमृतसमान हुन्छ भनिन्छ। आमाको बाहेक विभिन्न चौपायाको दूध पनि पोषिलो हुन्छ। शक्ति प्रदायक अनि पौष्टिक दूधबाट अनेक खालका परिकार पनि बनाइन्छ।
सामान्यतया गाई र भैँसीको दूध बढी प्रचलनमा छ। तर प्रयोग गर्न सकिने दूध ८ प्रकारको हुन्छ। विभिन्न चौपायाको दूधमा फरक फरक खालको गुण हुन्छ। यसले मानिसको स्वास्थ्यका लागि निकै फाइदाजनक काम गर्छ।
दूधका प्रकार
–गव्य (गाईको)
–माहिष (भैंसी)
–अजा (बाख्री)
–कारभ (ऊँटनी)
–स्त्रैन (नारीको)
–आविक (भेडी)
–ऐभ (हात्ती)
–ऐकशफ (घोडी वा गधी)
सामान्यतः सबै दूध मधुर, पथ्य, स्निग्ध, ओजवर्द्धक, धातुवर्द्धक, वात (पित्त शामक, वृष्या, कफकारक, गुरु एवं शीत हुन्छ।
यीमध्ये गाईको दूध जीवनीय, रसायन, क्षत एवं क्षीणको लागि हितकर, वर्णय, स्तान्यकर तथा सर गुणयुक्त हुन्छ। साथै श्रम, भ्रम, अलक्ष्मी, श्वास, कास, अत्यधिक प्यास, भोक, जीर्ण ज्वर, मूत्रक्रिच्छ एवं रक्त पित्त नाशक हुने आयुर्वेदमा उल्लखे छ।
भैंसीको दूध तीक्षणाग्नी तथा अनिद्रामा उपयोगी मानिन्छ। गुरु एवं शीत वीर्य हुन्छ।
यस्तै, पानी थोरै पिउने, बढी व्यायाम गर्ने (चर्ने) र कटु खाना खाने भएको हुँदा बाख्रीको दूध लघु, शोष, जीर्ण ज्वर, श्वास, रक्तपित्त एवं अतिसार रोगशामक हुन्छ।
ऊँटनीको दूध केही रुक्ष, उष्ण, केही नुनिलो, दिपन, लघु, तथा वात कफ रोग, अनाह, क्रिमी रोग, शोथ, उदर तथा अर्श रोगमा उपयोगी हुन्छ।
नारीको दूध वात, पित्त, रक्त वा अभिघातजन्य नेत्र रोगमा तर्पण, आश्चोतन तथा नस्य गर्नाले उक्त रोगहरूमा फाइदा गर्दछ।
भेडीको दूध अहृद्ध, उष्ण, वात्व्याधि नाशक, तथा हिक्का, श्वास, पित्त एवं, कफ रोग कारक हुन्छ।
हात्तीको दूध स्थिरता उत्पन्न गर्ने हुन्छ।
घोडी वा गधीको दूध ज्यादै उष्ण, लघु, शाखागत, वात नाशक, लवण, र केही अम्लरसयुक्त तथा जडता कारक (अल्छीपन ल्याउने वा बुद्धि नाशक) हुन्छ।
सबै प्रकारका अमिला द्रव्यहरु दूधसँग खानु वा दूध खाने बित्तिकै खानु हानिकारक हुन्छ।
मूला आदि हरिया सागहरु खाएर दूध खानु हुँदैन। अन्यथा कुष्ठ रोग हुन सक्छ भनिएको छ। पुष्करको साग, रोहिणीको साग तथा हिङसँग दूध र मह खानु हुँदैन। त्यस्तै, दूध र महसँग सर्स्युँको तेलमा भुटेको कुरा, परेवाको मासु खानु पनि हानिकारक मानिएको छ।
–पंक्तिकार आयुर्वेद चिकित्सक हुन्।
