मच्छिन्द्र क्लबले जित्यो इटहरी गोल्डकपको उपाधि
सुनसरी। इटहरीमा सम्पन्न १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले जितेको छ। शनिवार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।
जीतसँगै मच्छिन्द्रले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता सगरमाथाले नगद ५ लाख प्राप्त गर्यो। सगरमाथाले यसअघि लगातार दुई पटक प्रतियोगिताको उपाधि उचालेको थियो। सगरमाथाका अशोक खवास फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सगरमाथा युथका कुलदीप कार्की बने। उनले एक लाख रुपैयाँ पुरस्कार पाए। ्उत्कृष्ट गोलरक्षक बनेका मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्रकै सनिस श्रेष्ठ, उत्कृष्ट मिड फिल्डर मच्छिन्द्रकै विशाल तामाङ उत्कृष्ट फरवार्ड मलिक युसुफ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रकै सन्तोष न्यौपानेले जनही २०–२० हजार प्राप्त गरे।
प्रतियोगिताभर चार गोल गरी सर्वाधिक गोलकर्ता बनेका मच्छिन्द्रका मलिक युसुफले नगद २५ हजार प्राप्त गरे भने राइजिङ प्लेयर सनिप घिमिरेले एक थान एलइडी टिभी प्राप्त गरे।
