विराटनगरको बलुवाहीमा मलामी विश्राम घर
विराटनगर। विराटनगर महानगरपालिका–८ स्थित बलुवाहीमा मलामी विश्राम घर बनाइने भएको छ । महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन्।
त्यस क्रममा उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गरेकी थिइन्। २० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राम पोखरेलले बताए। महानगरको ३ र वडाको ५ लाखसहित कुल ८ लाख रुपैयाँमा निर्माण हुने विश्रामघरको छानो जस्तापाताको हुनेछ।
विशेष गरी विराटनगर–८ का बलुवाही, अमरटोल, विश्वकर्मा चोक, विराटनगर–१०, १४ र जहदा गाउँपालिकाका केही वडाबाट बलुवाहीस्थित घाटमा अन्त्येष्टिका लागि ल्याइने गरिएको छ। यसरी अन्त्येष्टिमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गर्न लागिएको वडाध्यक्ष पोखरेलको भनाइ छ।
