प्रदेशसभामा मन्त्री निदाउने, अर्का मन्त्री कोट्याएर उठाउने
विराटनगर। कोशी प्रदेशसभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सार्वजनिक महत्वको विषय उठिरहँदा सरोकारवाला मन्त्री मस्तसँग निदाएको दृश्य देखिएको छ।
बैठकमा जनता समाजवादी पार्टी नेपालकी सांसद निर्मला लिम्बुले गृहजिल्ला ताप्लेजुङमा भइरहेको केबलकार निर्माणको विषयमा बोलिहरेकी थिइन्। ताप्लेजुङमा झडप भएको र अवस्था तनावपूर्ण बनिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरगराएकी थिइन्।
उनले विकासको नाममा राज्यले सर्वसाधारणमाथि दमन गरिरहेको उल्लेख गरिन्। त्यही कारण ताप्लेजुङ अशान्त रहेको भन्दै उनले सरकारले गम्भीर रुपमा सोच्नुपर्ने बताइन्।
यही बेला कोशी प्रदेशको शान्ति सुरक्षा समेत हेर्ने मन्त्रालयको जिम्मेवारीमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी भने कुर्सीमै निदाएका देखिए।
छेउमै रहेका अर्का सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उनलाई ब्युँझाउन कोट्याए। त्यसो गर्दा पनि भण्डारी ब्युँझिएनन्। वरपर हेर्दै फेरि राईले कोट्याएपछि मात्र भण्डारीले आँखा खोलेका थिए।
प्रदेशको जल्दोबल्दो विषय र आफ्नै मन्त्रालयसँग सम्बन्धित विषयमा कुरा उठिरहेका बेला सरोकारवाल मन्त्रीले बेवास्ता गरेको रुपमा यो घटनालाई बुझ्नुपर्ने एक जना सांसदले प्रतिक्रिया दिएका छन्।
‘अहिलेको चर्चित घटना जो चुनौतीपूर्ण पनि बनिरहेको छ, त्यसबारे संसदमा कुरा उठिरहँदा मन्त्रीले मस्त निदाउने हो?’ ती सांसदले प्रश्न गरे, ‘यो एकदमै गैरजिम्मेवारपूर्ण व्यवहार हो।’
संसदमा कहिले गुट्का खाँदै गरेको, कहिले खैनी खाँदै गरेको जस्ता दृश्य पनि देखिने गरेको सांसदहरुले बताएका छन्। यस्ता गतिविधि गर्नु संसदीय मर्यादाविपरीत भएको उनीहरुको भनाइ छ।
