लेबनानलाई पराजित गरेसँगै नेपाल फाइनलमा
काठमाडौं। लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हराएको हो । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन्।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो।
नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ। नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो।
आजै भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो। म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन्। फाइनल खेल फागुन १४ गते हुनेछ।
