६ महिनामा सवारी दुर्घटनामा १,२३३ जनाले गुमाए ज्यान
केही साताअघि मोरङको सुन्दर हरैँचामा दुईवटा बस ठोक्किएर भएको दुर्घटना
काठमाडौं। यो वर्ष ६ महिनाको अवधिमा सवारी साधन दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को उक्त अवधिमा भएका दुर्घटनामा यो मानवीय क्षति भएको हो।
उक्त अवधिमा ११ हजार ३३८ सडक दुर्घटना भएका थिए। लापरबाहीपूर्वक सवारीसाधन चलाउनु, ट्राफिक नियमको पालनामा बेवास्ता गर्नु जस्ता कारणले दुर्घटनाहरु बढिरहेको जनाइएको छ।
आर्थिक वर्ष ०८०/८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटना भएको तथ्यांक छ । ती घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२ जनाले ज्यान गुमाएका थिए। भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो भने असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २०० तथा कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया
