बसले मोटरसाइकललाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा सिकिस्त
सुनसरी। सुनसरीको दुहबीमा भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । उनका छोरा घाइते भएका छन्।
कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८ मा आज सोमबार १२ बजेतिर दुर्घटना भएको हो। विराटनगरबाट इटहरी जाँदै गरेको को १ ख ७०२३ नम्बरको चन्द्रमा यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको मृत्यु भएको हो।
दुर्घटनामा परेर मोटरसाइकल चालक उनका छोरा २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले बसका चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३९ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ।
