भ्रष्टाचारले नेपालको अन्तर्राष्ट्रिय बदनामीः कोइराला
विराटनगर। नेपाली कांग्रेसका नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम हुँदै गएको बताएका छन्।
मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले यस्तो बताएका हुन्। भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको उनको भनाइ छ।
‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ। उत्पादकत्व वृद्धि हुन सकेको छैन। परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ। यसले अन्तर्राष्ट्रियस्तरमा देश बदनाम भएको छ । देश अफ्ठ्यारो अवस्थामा परेको छ।’
नेता कोइरालाले सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नु लज्जाको विषय भएको बताए।
देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले उल्लेख गरे। सुशासन, पारदर्शिता, जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको उनको कथन थियो।
