६ महिने छोरीसहित पोखरीमा हामफालिन् महिला
विराटनगर। मोरङको बेलबारीमा छोरीसहित ए जना महिला माछा पोखरीमा हामफालेकी छन्। नाबालिकासहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ।
उद्धार गरिए पनि शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। हामफालेको देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगर अस्पतालमा पठाएका थिए। अस्पताल पुर्याउनसाथ शिशुलाई चिकित्सकले मृत घोषित गरेका थिए।
मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीले बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्यासहित माछा पोखरीमा शुक्रबार साँझ हामफालेको जानकारी दिए।
घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको माछा पोखरीमा छोरीसहित उनी हामफालेकी थिइन्। ओलीका अनुसार अवस्था गम्भीर रहेकी आमाको आईसीयूमा उपचार भइरहेको छ।
घटना हुनुअघि पति गंगाराम दूध पुर्याउन बजार गएको पाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
