मधेश प्रदेशमा १३२ जना स्वयंसेवक शिक्षक भर्ना गरिँदै
जनकपुर । मधेश प्रदेशमा विद्यालय शिक्षाको गुणस्तर तथा सिकाइ वृद्धि र सिकाइ उपलब्धि हासिल गर्न प्रदेश सरकारले नयाँ किसिमको योजना अगाडि बढाएको छ।
मधेश प्रदेश सरकारले विभिन्न सामुदायिक विद्यालयमा चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गर्न लागेको छ। प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले बिहीबार एक सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।
प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणामुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको जनाइएको छ। एक दशकभन्दा बढी समयदेखि सामुदायिक विद्यालयमा शिक्षकको नयाँ दरबन्दी कायम नभएको र विद्यमान दरबन्दीमा संशोधन एवम् परिमार्जन नहुँदा अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव र विद्यार्थी अनुपातमा शिक्षकको कमी छ।
प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धि प्राप्त गर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको मुख्यमन्न्त्री सतिशकुमार सिंहले बताए।
विद्यालयमा हरेक वर्ष शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा नौ र १० का विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको छ।
यस्तो अवस्थामा नयाँ पाठ्यक्रम र शिक्षण शैलीअनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिमप्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताइन्।
