पाठेघर क्यान्सरविरुद्ध किशोरीहरूलाई एचपीभी खोप धमाधम
इलाम। पश्चिमी इलामको देउमाई नगरपालिका क्षेत्रमा छात्राहरुलाई एचपीभी खोप लगाइएको छ।
उक्त नगरपालिकाको शान्तिडाँडा स्वास्थ्य चौकीको कार्य क्षेत्रमा पर्ने पञ्चकन्या माध्यमिक विद्यालयका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइएको हो।
शान्तिडाँडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र ढुङ्गेलका अनुसार कक्षा ६ देखि १० सम्मका ६४ जना छात्रालाई खोप दिइएको छ।
इलाममा यो खोप ९ हजार आठ सय २८ जना किशोरीलाई लगाइने लक्ष्य छ। फागुन २ गतेसम्म जिल्ला स्वास्थ्य कार्यालय इलामले अभियान सञ्चालन गरेर खोप लगाउने काम गरिरहेको छ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका कक्षा ६ देखि १० मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका छात्रालाई यो खोप लगाइने छ।
इलामका १० वटै पालिकामा एकैपटक यो अभियान सञ्चालन भइरहेको छ। नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरेको हो।

पहिलो चरणमा चितवन र कास्कीमा २०७२ र ०७३ मा यो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो। यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ।
कोशी प्रदेशमा दुई लाख चार हजार नौ सय ७४ जनालाई यो खोप लगाइने लक्ष्य राखिएको छ।
अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाएका छन्। स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार दुई दिनमा लक्षित किशोरीमध्ये २८ प्रतिशतले खोप लगाइसकेका छन्।
