हिरासतमा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै रकम असुल
सुनसरी। प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै रकम असुल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त गरिदिने भन्दै इनरुवा नगरपालिका–६ घर बताउने २२ वर्षीय आकाश भनिने विनोद दाहाल पक्राउ परेका हुन्।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्दै उनले हिरासतबाट छुटाइदिने भनेर रकम असुली गरेको पाइएको सुनसरीका एसपी सुमन तिम्सिनाले बताए।
हिरासतमा रहेका हेमनकी आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रुपैयाँ लिइएको खुलेको छ। अरु १५ हजार रुपैयाँ दिए हिरासतबाट छुट्ने भनिएको थियो। पीडित पक्षले यस विषयमा जानकारी दिंदै प्रहरीमा उजुरी दिएको थियो।
त्यसपछि खोजीका क्रममा प्रहरीले दाहाललाई सुनसरीकै रामधुनी नगरपालिका–५ बाट पक्राउ गरेको हो। उनको साथबाट १५ हजार रुपैयाँ र मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
