महिलाको डिम्बासयबाट निकालियो १८ किलोको ट्युमर
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना महिलाको डिम्बासयबाट १८.६ किलो तौल भएको ट्युमर निकालिएको छ। प्रतिष्ठानका चिकित्सकहरुले शल्यक्रिया गरी ३९ वर्षीया महिलाको डिम्बासयबाट ट्युमर निकालेका हुन्।
प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वको टोलीले मोरङकी ती महिलाको शल्यक्रिया गरेको थियो।
शल्यक्रियामा डा. श्रेष्ठसहित प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोषकुमार झा, डा. रिचा भट्टराई, डा. योगेश ढकाल सहितको टोली खटिएको थियो।
प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारका अनुसार डिम्बासयको महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बासयको कोषिका अनियन्त्रित रुपमा बढ्दै गएर उक्त ट्युमर बनेको थियो। डिम्बासय पाठेघरको माथिल्लो भागको दायाँ र बायाँ दुवै भागमा टाँसिएर रहेको हुन्छ।
चार महिनादेखि हिँड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी ती महिला उपचारका लागि विराटनगर, भरतपुर र पोखरासम्म पुगेकी थिइन्।
जटिलताका कारण अरु अस्पतालमा उनको शल्यक्रिया हुन सकेको थिएन। आर्थिक अवस्था कमजोर भएकी महिलाको उपचार निःशल््क गरिएको डा अभिजितले जानकारी दिए।
