वडाध्यक्षको भैँसी मर्दा पशुपन्छी शाखा प्रमुख कारबाहीमा
विराटनगर। मोरङको केराबारी गाउँपालिकामा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुख कारबाहीमा परेका छन्। गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै कर्मचारीलाई काम कारबाहीमा रोक लगाइएको छ।
उपचार गर्ने क्रममा भैँसी मरेपछि काम गर्न रोक लगाएर पशुपन्क्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन सुरु गरेको छ। साहलाई बिहीबारबाट गाउँपालिकामा हाजिर गर्न रोक लगाइएको छ।
छानबिनका लागि गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
घटनास्थल मुचुल्का उठाएर परीक्षणका लागि मृत भैँसीको विभिन्न अंगका नमुना संकलन गरिएको संयोजक बाँस्तोलाले बताए। परीक्षणको रिपोर्ट आइसकेपछि थप कारबाही अघि बढाइने भएको छ।
पशुपन्क्षी शाखाका प्रमुख साहले उपचार गर्ने क्रममा केराबारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी गत मंगलबार मरेको थियो। भैँसी मरेपछि वडाध्यक्षसहित केही गाउँलेहरुको प्रतिनिधिमण्डल गाउँपालिकामा गएको थियो।
वडाध्यक्ष शाहीले दुई पक्षलाई राखेर छलफल गराई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदन दिएका थिए। प्रहरीमा शुक्रबार छलफल भएको थियो। छलफलका क्रममा साहले आफूबाट कुनै गल्ती नभएको बताएका थिए।

वडाध्यक्ष शाहीले भने पशुपन्छी शाखा प्रमुख साहको लापरबाहीले आफ्नो भैँसी मरेको दाबी गरेका छन्। १ महिना ७ दिनको सुत्केरी भैँसीले दैनिक १२ लिटरसम्म दूध दिइरहेको र नाम्लेको लक्षण देखिएपछि गाउँपालिकाबाटै पशु स्वास्थ्यकर्मी झिकाएर देखाएको उनले बताए। ‘औषधि खान दिए’ वडाध्यक्ष शाहीले भने, ‘तर, भैँसी मर्यो।’ भैँसी गुमाउनु पर्दा १ लाख ४० हजार रूपैयाँ बराबरको नोक्सान भएको उनको भनाइ छ।
सुत्केरी भएको २२ दिनमै नाम्लेको औषधि खुवाइसक्नुपर्नेमा ढिलो भएको भन्दै २ बोतल औषधि एकैपटक खुवाउन भनेर साहले दिएका थिए। बिहान ७ बजे औषधि खुवाएको भैँसी करिब ३ घण्टापछि छटपटाउन थालेको शाही बताउँछन्।
त्यसपछि फेरि साहलाई बोलाइएको थियो। औषधि धेरै भएकाले समस्या भएको भन्दै उनले त्यसको असर हटाउन दुईवटा सुई लगाइदिएका थिए। सुई दिएको केही बेरमै भैंसी मरेको शाहीले बताए।
नाम्लेको औषधि ‘ओभरडोज’ भएर भैँसी मरेको उनको भनाइ छ। प्राविधिलाई कारबाही गर्नुपर्ने अनि आफूलाई क्षतिपूर्ति दिइनुपर्ने माग शाहीको छ।
यसैबीच, साहमाथि भएको कारबाहीलाई लिएर गाउँपालिकाका कर्मचारी भने रुष्ट बनेका छन्। कार्यालय समयमा कर्मचारीले कार्यालयकै औषधि लगेर खुवाउँदा पशु चौपाया मारेमा दोष दिन नमिल्ने उनीहरुको तर्क छ। भैँसीको गोबर परीक्षण गरेर नै प्राविधिक साहले दिएको कर्मचारीहरु बताउँछन्।
गाउँपालिकाका पशुपन्छी शाखा प्रमुख साहले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले समस्या समाधान नभएसम्मका लागि पशुपन्छी शाखा प्रमुखलाई काममा रोक लगाइएको बताए।
कर्मचारीकै लापरबाहीले भैँसी मरेको भनेर वडाध्यक्षले गुनासो गरेको उल्लेख गर्दै उनले त्यसबारे छानबिन भइरहेको बताए। समस्या टुंगोमा नपुगेसम्मका लागि हाजिर नगर्नु भनेको पालिका अध्यक्ष मिरिङचिङले बताए।
पशु प्राविधिककै परामर्शअनुसार औषधि खुवाउँदा मरेको भैँसीको पोस्टमार्टम गर्न नपाइएको उनको भनाइ छ। ‘पोस्टमार्टम गर्न पाएको भए मृत्युको कारण प्रष्ट हुन्थ्यो। यो ठाउँमा पोस्टमार्टम सम्भव रहेनछ।’
