सडकबाट गाडी खस्दा चालकको मृत्यु, ५ घाइते
काठमाडौं। झापाबाट काठमाडौं आइरहेको निजी विद्युतीय गाडी आज शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गाडी चालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो।
बीपी राजमार्गको गोलञ्जोर–५ मा गाडी अनियन्त्रित भएर सडकबाट ४ सय मिटर तल खसेको प्रहरीको भनाइ छ।
दुर्घटनामा ५ जना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
गम्भीर घाइते भएका मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा इलाम देउमाई नगरपालिका-८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका-१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन्।
