उपमेयर ताला लगाउने, मेयर फुटाउने

सुनसरी। कुनै न कुनै विवाद भइरहने इटहरी उपमहानगरपालिकामा फेरि अर्को विवाद देखिएको छ। मेयर र उपमेयरबीच ताला लगाउने र खोल्ने होडबाजी नै चलेको छ।

उपप्रमुखले प्रशासन शाखामा लगाएको ताला प्रमुखले फुटाएका छन्। उपप्रमुख संगीता चौधरीले माघ ११ गते प्रशासन प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा ताला लगाएकी थिइन्। उनलाई एमालेबाट निर्वाचित वडाध्यक्षहरूले साथ दिएका थिए।

तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै उपमहानगरप्रमुख हेमकर्ण पौडेलले १३ दिनपछि बुधबार ताला फुटाएका हुन्।

पौडेल कांग्रेसबाट निर्वाचित भएका हुन्। उनले विज्ञप्ति जारी गर्दै सहमतिमा अघि बढ्नका लागि बोलाइएको छलफल निष्कर्षमा नपुगेपछि ताला फोडिएको उल्लेख गरेका छन्।

‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो,’ विज्ञप्तिमा नगरप्रमुखले लेखेका छन्, ‘तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन।’

ताला नखुल्दा कार्यलयको दैनिक कामकाजमा बाधा पुगेको, वडा कार्यालयहरूको सेवासमेत प्रभावित भएको हुनले स्थानीय सरकार प्रमुखको नाताले नगरबासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाएको ताला फोड्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

माघ ११ गते वडा कार्यालयको ‘सर्भर डाउन’ गरिदिएपछि उपमेयरसहित एमालेका वडाध्यक्षहरुसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन भएको थियो। त्यस क्रममा जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए।

कर्मचारी सरुवाको विषयलाई लिएर दुई पक्षबीच तिक्तता बढेको हो। पुस २८ गते मेयर पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए।

त्यसपछि पौडेल उपमेयर चौधरीलाई कार्यबाहक जिम्मेवारी दिएर बिदा बसेका थिए। उनी १३ गते आइतबार कार्यालयमा हाजिर भए। कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै माघ ३ गते उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टाएको थियो।

कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडाबाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *