क्यानाडाका दुई नेपालीलाई ‘किङ चार्ल्स कोरोनेसन अवार्ड’
टोरन्टो। क्यानाडामा रहेका दुई जना नेपालीले बेलायतका राजा चार्ल्सको गद्दी आरोहणको अवसरमा प्रदान गरिएको किङ्स चार्ल्स थर्ड कोरोनेसन मेडल प्राप्त गरेका छन्।
लामो समयदेखि अन्तर्राष्ट्रिय संस्थाहरूमा मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कृष्ण केसी र नबराज गुरुङलाई उक्त मेडल प्रदान गरिएको हो।
क्यानाडाको टोरन्टोमा हालै आयोजित एक समारोहमा टोरन्टो क्षेत्रकी सत्ता पक्षीय सांसद सल्मा जाहिदले उनीहरूलाई मेडल प्रदान गरेकी थिइन्।
क्यानाडा सरकारले प्रदान गर्ने कोरोनेसन अवार्ड क्यानाडा वा क्यानाडाको कुनै विशेष प्रान्त, क्षेत्र वा समुदायमा महत्वपूर्ण योगदान पुर्याएको वा विदेशमा उल्लेखनीय उपलब्धि हासिल गरेका कारण देशको गरिमा उच्च पारेको व्यक्तिलाई प्रदान गरिन्छ। ब्रिटिश राजतन्त्रसँगको सम्बन्धका कारण क्यानाडामा राजा चार्ल्सको राज्याभिषेक पदक महत्वपूर्ण मानिन्छ।
टोरन्टोमा बसोबास भएका केसी र गुरुङ नेपाली समुदायका विभिन्न गतिविधिहरूमा पनि सक्रिय छन्। गुरुङ एनआरएनए, क्यानाडाका पूर्व अध्यक्ष पनि हुन्। कोरोनेसन अवार्डले सम्मान गरेकोमा दुबैजनाले क्यानाडा सरकारलाई धन्यवाद दिएका छन्।
हाल देश बाहिर रहेका कारण सम्मानित व्यक्तित्व गुरूङका तर्फबाट उनकी पत्नि जमुना गुरुङले अवार्ड ग्रहण गरेकी थिइन्। ‘यो पदकले दुई दशकभन्दा बढी समयदेखि मेरा पतिले विश्वव्यापी रूपमा द्वन्द्व र जलवायु–प्रेरित प्रकोपहरूबाट प्रभावित समुदायहरूलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने साझेदार संस्थाहरूलाई साथ दिइरहने अथक कार्यको सम्मान गरेको छु, उनले लेखेकी छन्।
नेपाल र विदेशमा लामो समय अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरेका विभिन्न पुस्तकका लेखक केसी अवार्डहरूबाट पनि सम्मानित भएका छन्।
केसीले यसअघि क्यानाडा सरकारले उपलब्ध गराएका तीन सहित चार वटा राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरिसकेका छन्।
केसीले यो अवार्डले आफू साँचो अर्थमा सम्मानित भएको उल्लेख गरेका छन्। उनले भने, ‘मैले समुदायमा पुर्याएको योगदानको क्यानाडा सरकारले सम्मान गरेको छ, यसको श्रेय मैले योगदान गरेका एसिया, अफ्रिकी र नेपाली समुदायलाई पनि दिन चाहन्छु।’
(‘नेपाल टच’बाट)
