बालिका हत्यामा संलग्न आमाबुबा र मावलीसहित ६ जना पक्राउ

विराटनगर। विराटनगरमा हत्या गरिएकी १४ वर्षीया चाँदनी यादवका बाबुआमा पक्राउ परेका छन्। भारत बिहारको छपरा जिल्ला घर भएका चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव र आमा ३९ वर्षीया राजकुमारी आइतबार पक्राउ परेका हुन्।

विराटनगरमा छोरीको हत्या गरेर भारतस्थित घर गएको खुलेको थियो। उनीहरुलाई अनुसन्धानका सिलसिलामा विराटनगर बोलाएर नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

चाँदनीको हत्यामा बाबुआमासहित उनकै मावली परिवारका सदस्यको संलग्नता पत्ता लागेको प्रहरीले जनाएको छ। यसअघि चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सरयुग मण्डल, हजुरआमा ५३ वर्षीया बतासी मण्डल, मामा ३५ वर्षीय रामबाबु मण्डल र माइजू जानकीदेवी मण्डल यसअघि नै पक्राउ परेका छन्।

प्रहरीले अनुसन्धानका क्रममा मावली परिवारका ८ जनालाई पक्राउ गरेकामा घटनामा संलग्नता नदेखिएपछि ४ जनालाई छाडिएको छ।

चाँदनीका बाबु लालमन, आमा राजकुमारी, मावली हजुरबुवा सरयुग मण्डल, हजुरआमा बतासी, मामा रामबाबु र माइजू जानकीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको जोशीले बताए।

हत्या गरेर विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर नजिकै खाल्डोमा गाडेको अवस्थामा गत शुक्रबार चाँदनीको शव फेला परेको थियो। प्रहरीले उत्खनन गरेर खाल्डोबाट शव निकालेको थियो।

बाबुआमादेखि मावली परिवारसम्मको मिलेमतोमा बालिकाको हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ।

प्रहरीले प्राप्त गरेको जानकारी अनुसार भारतमै एक व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो। त्यो सम्बन्ध छुटाउनका लागि भनेर बाबुआमाले नै १ महिनाअघि उनलाई विराटनगरस्थित मामाघरमा लिएर आएका थिए।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार चाँदनीले ती व्यक्तिलाई छाड्न नसक्ने अडान लिएकी थिइन्। छाड्न दबाब दिइएपछि मामाघरबाट भाग्न खोजेकी थिइन्। भनेको नमानेको अनि भाग्न खोजेपछि रिसको झोंकमा हत्या गरी शवलाई खाल्डो खनेर गाडेको खुलेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *