नेपाल ४ विकेटले थाइल्याण्डसँग पराजित

काठमाडौं। कीर्तिपुरमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड बीचको महिला टी–२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग‍र्यो। थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन्।

नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन्। सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन्।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन्। कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो।

नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो। नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए। कप्तान इन्दु बर्माले १५ रन बनाइन्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन्। फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए। चनिदा सुथिराङले १ विकेट लिइन्।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो। शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *