केबलकारले धर्म, संस्कृति र आस्थालाई कमजोर पार्दैनः योगेश भट्टराई

विराटनगर। ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माणको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गर्ना र सम्बर्द्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरु अघि बढाउनु पर्ने उल्लेख गरेका छन्।

सांसद भट्टराईले जारी गरेको विज्ञप्ति–

१. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रा. लिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको हो।

२. ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन्।

३. केबलकार निर्मणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना हुन पुग्यो।

४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो।

५. जहाँ बर्षेनी नेपालका विभिन्न भाग, भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहार लगायत क्षेत्रबाट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन्।

६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने बर्षेनी यो संख्या उल्लेख्य मात्रामा बृद्धि हुदै गएको छ।

७. पाथीभरालाई शक्तिको प्रतीक देवीको रुपमा बुझिन्छ। खस, आर्य लिम्बु राई (किराँत) गुरुङ, तामाङ शेर्पा, मगर, नेवार, लगायतका सवै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रुपले अस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा।

८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलस्रोत, पर्यटन र कृषि हो। तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो। ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ। त्यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरेर ताप्लेजुङबासीको आर्थिक रुपान्तरणमा उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरुको साझा धारणा रहेको छ।

९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस्, बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगोस् भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेमा दुईमत छैन।

१०. केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तीर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ। यसबाट ताप्लेजुङबासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यवसायिकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ।

११. निर्माण कम्पनीले प्रस्तुत गरेको म्एच् र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावणीय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन। पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दूरीमा रहेको छ। पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ। पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन। रुख तथा पोल गरेर २११२ कटान हुनेछ। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन।

१२. ताप्लेजुङमा निर्माण हुने केबलकार वा जलविद्युत आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौं। र धन्यवाद ब्यक्त गर्दै ताप्लेजुङबासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु।

१३. २०८१ मघ १२ गतेको घटनाप्रति दुःख ब्यक्त गर्दछु। त्यसक्रममा घाइते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै घाइतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु।

१४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गर्ना र सम्बर्द्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरु अघि बढाउन माग गर्दछु।

१५. लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु। त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ। समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ। परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भड्किने खालका गतिविधिले कसैको हित गर्दैन। यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरुको उपचारको ब्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु।

१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ। साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्काे समिति गठन गरी काम कार्बाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ।

१७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ। प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।

१८. पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परताप्रति धन्यवाद ब्यक्त गर्दछु। कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु।

१९. ताप्लेजुङको सम्रग विकासमा एकताबद्ध रुपले अघि बढ्न सवै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु। सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु।

धन्यवाद


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *