पाथीभरामा केबलकारको विरोध : सरकारले पहिचानवादीलाई वार्तामा बोलायो

विराटनगर। कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। सरकारले गठन गरेको वार्ता समितिको आज मंगलबार बसेको बैठकले पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो।

ताप्लेजुङसहित केही जिल्लामा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो।

ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए ।

पाथीभरा जानका लागि केबलकार निर्माण सुरु भएपछि संस्कृतिमाथि अतिक्रमण भएको भन्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। दुई दिनअघि आन्दोलनकारी र प्रहरीबीच पाथीभरा क्षेत्रमा झडप भएको थियो।

प्रहरीले दमन गरेको भन्दै मंगलबारदेखि आन्दोलनकारीले ताप्लेजुङमा बन्द आह्वान गरेका छन्। बन्दका कारण यातायातका साधन नचल्दा यात्रुहरु समस्यामा परेका छन्।

प्रदेश सरकारले गत मंसिर २४ गते आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। समितिमा पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *