१०२ पटक रक्तदान गरेका श्रेष्ठको सम्मान
विराटनगर । १०२ पटक रक्तदान गरिसकेका विराटनगरका रक्तदाता हरिमोहन श्रेष्ठलाई मंगलबार सम्मान गरिएको छ। १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो।
उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका थिए। नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर महानगरपालिका–७, देवकोटा चोकमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताए। उनले १ सय पटकभन्दा बढी रक्तदान गर्ने श्रेष्ठको मानवीय कार्य पैसासँग तुलना गर्न नसकिने अमूल्य रहेको उल्लेख गरे।
अधिवक्ता विनयराज पाण्डेले आफू पनि स्वयंसेवी रक्तदाता भएको बताउँदै रक्तदान गर्दा छुट्टै आनन्द आउने अनुभव सुनााए। सम्मानित श्रेष्ठले आफूले रक्तदान गर्दाको अनुभूति सुनाएका थिए।
अधिवक्ता राजकुमार राउत, समाजका अभियन्ता सुवोध निरौला, सन्तनु रेग्मी, शैलेश श्रेष्ठ लगायतले रक्तदानका बारेमा चर्चा गरेका थिए। रक्तदानका बारेमा जनचेतना प्रशस्त भएकाले रक्तदाताको कमी नभएको अवस्थामा रक्तसञ्चारको कार्य गर्दै आएको रेडक्रसका सञ्चालकहरुको अकर्मण्यताका कारण रगतको अभाव हुने गरेको बताए।
