औषधीय गुणयुक्त अपराजिता
विश्वकै प्राचीन चिकित्साशास्त्र मानिने आयुर्वेदमा जडिबुटीहरू र तिनको सेवनबाट हुने फाइदाबारे ब्याख्या गरिएको छ। मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि–दोषहरू (बात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ।
स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडिबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू (योग, पञ्चकर्म, क्षारसूत्र) को प्रवर्तन गर्दछ।
लेकदेखि बेँसीसम्म हाम्रो गाउँघर र जंगलमा पाइने धेरै वनस्पति औषधीय गुणयुक्त छन्। तिनको उचित प्रयोग हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

तस्बिरमा देखिएको चिया हो। धेरैले दैनिकजसो पिउने चियापत्तीबाट बनेको चिया भने होइन। यो औषधीय गुणयुक्त अपराजिताको चिया हो। यसको सेवनले हाम्रो स्वास्थ्यमा धेरै किसिमका फाइदा हुन्छ।
अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो। यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ।
नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ। अपराजितामा केराउको जस्तै कोसामा मुसुरोको दाल जस्तै काला गेडा लाग्ने गर्दछ।
अपराजितालाई आयुर्वेदमा शीतल, त्रिदोषनाशक, शीतवीर्य, बुद्धिदायक, विरेचक, मुत्रनिस्सारक, कृमीनाशक, विषनिवारक, नेत्ररोगमा हितकारी, क्षयरोगजन्य गन्थीहरूमा गुणकारी, पेट सुन्निनेमा लाभकारीको रूपमा वर्णन गरिएको छ।
अपराजिताको बोटका सबै भाग उत्तिकै गुणकारी भएको मानिन्छ। यसले अण्डवृद्धि, गलगाँड, गाँठा–गिर्खा, जन्डिस, गर्भपात, जलोदर तथा पुरानो खोकीमा लाभ पुर्याउँछ।
उपचारका लागि सर्वाङ्ग वा बीउको धूलो एक चम्चा खाना खानुअघि मनतातो पानीसँग खान सकिन्छ। ताजा तथा सुकेको टुक्रा चुस्न पनि सकिन्छ।
यसको जरा तितो हुन्छ। कब्जियत, पिसाब रोकिएको, पेटभित्र अस्वाभाविक तवरले पानी जमेको (Ascites) र ज्वरोमा यसको जराको सेवन गरिन्छ।
कान दुखेको, कलेजोको रोग, चर्केको फुटेको (Eruptions) मा यसको पात उपयोगी मानिन्छ। दीर्घ खालको ब्रोङकाइटिसमा कफ निकाल्न यसको जराको रस पिइन्छ। कब्जियत र Viscera मा कुनै रोग लागेमा यसको बीउ उपयोगी मानिन्छ। सर्पले डसेको अवस्थामा पनि यसको प्रयोग लाभकारी मानिन्छ।
–पंक्तिकार आयुर्वेदसम्बन्धी अध्येता हुन्।
