छिचोलियो जोगवनी-किमाथांका सडक

विराटनगर। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको जोगवनी–किमाथांका सडक निर्माण पूरा भएको छ। निर्माण पूरा भएसँगै चीन र भारत खाँदबारी-किमाथांका सडक सञ्जालमा जोडिएका छन्।

ऊर्जामन्त्री दीपक खड्काका अनुसार नेपाली सेनाले चट्टानी भीर फुटाइसकेपछि कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथांका सडकको च्याम्ताङ–घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको हो।

मन्त्री खड्कासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई, पूर्वसांसद राजेन्द्र गौतम सम्मिलित टोली घोङघोप्पा पुगेर उक्त सडकको अन्तिम बिन्दु खुला गरेका हुन्।

अब सडकलाई चौडा बनाउँदै स्तरोन्नति गरिने मन्त्री खड्काले बताए। यो खण्डमा सेनाले ‘डबल लेन’ को १० दशमलव ५ किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ।

संखुवासभा सदरमुकाम खाँदबारीबाट च्याम्ताङसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ। यसअघि नै किमाथांकाबाट घोङघोप्पासम्म १४ किमि सडकको कच्ची ट्रयाक खुलिसकेको थियो। खाँदबारी-किमाथांका सडकको दूरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ।

खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री खड्काले बताए । त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनबाहेक बंगलादेशले पनि फाइदा लिन सक्ने उनले जनाए।

रक्षा मन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए। उनले समयअगावै सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई धन्यवाद दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडक खण्डको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने बताए। उनले उक्त सडक खण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *