राष्ट्रिय राजनीति गरिरहेकी छुः विद्यादेवी भण्डारी
विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन्। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउनसक्ने’ बताइन्।
दलीय राजनीति नभइ आफूले ‘राष्ट्रिय राजनीति’ गरिरहेको उनले भनाइ छ। राष्ट्रको आवश्यकताले खोजी भएमा दलीय राजनीतिमा पुनः सक्रिय हुने इच्छा व्यक्त गर्दै भण्डारीले तर, अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको उल्लेख गरिन्।
नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको र दलीय राजनीतिमा सक्रिय रहेको भनेर उनीबारे अनेक भनाइ आइरहेका छन्। भण्डारीले भने यो सबै हल्ला भएको प्रतिक्रिया दिइन्।
‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन। राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु’ उनले भनिन्, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यता लगायतका समस्या समाधानका लागि छलफल चलाइरहेको छु। म सबै राष्ट्रिय दललाई सहयोग गर्छु। खास एजेन्डामा रहेका दललाई सहयोग गर्छु। ती एजेन्डा पूरा गर्न कुनै दलमा आबद्ध हुनुपर्यो भने त्यतिबेला निर्णय गर्ने छु।’
एमालेको भावी अध्यक्षको भूमिकामा रहन चाहनुभएको हो भन्ने पत्रकारहरुको जिज्ञासामा भण्डारीले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन। भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ। भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यहीँ जानुपर्ने हुन्छ। तर, अहिले यो विषयमा छलफल भएको छैन।’
भण्डारीले मोरङ आफ्नो गृहजिल्ला भएको र विराटनगरबाटै राजनीतिक गतिविधि गरेको बताइन् । ‘यो मेरो पुरानो गृहजिल्ला पनि हो। राजनीति गरेको स्थान हो। पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ।’
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा लाग्दा आफूलाई खुसी लागेको पनि भण्डारीले बताइन्। ‘खुसी लागेको छ । उहाँँ युवा हुनुहुन्छ। अनुभव छ। राजनीति गरेर आउनु भएको हो। म राष्ट्रपति र उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो। उहाँलाई मेरो शुभेच्छा छ।’
