विराटनगरका सबै वडामा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप दिइँदै

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ। माघ २३ देखि फागुन ७ गतेसम्म सबैमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

खोप अभियानबारे महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुका लागि प्रशिक्षण दिएको जनाएको छ। पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाउन लागिएको उपमेयर शिल्पा निराला कार्कीले बताइन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जानकारी दिए। जसबाट १ हजार ३ सय १३ जना अर्थात् कूल बिरामीमध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको तथ्यांक छ।

भण्डारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट औसतमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ। नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल र भयावह बन्दै गएको उनले बताए।

अभियान सफल बनाउन १९ वटै वडामा माइकिङ, वडावडामा सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिनेछ। महानगरभित्र १ सय २१ वटा विद्यालय, २९ वटा समुदाय र १९ वटा वडा स्वास्थ्य कार्यालयसहित १ सय ६९ वटा खोप केन्द्र तोकिएका छन्।

खोप अभियानमा करिब २ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिए। विद्यालय बाहिरका २ हजार ७ जनासहित १४ हजार ४ सय ८६ जनालाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *