‘कृषि विज्ञ’ मदन राई बालयौन दुरूपयोग आरोपमा दोषी ठहर

विराटनगर। बालयौन दुरुपयोगको आरोपमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।

शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो। यो फाउण्डेसन उनले आफैंले स्थापना गरेका थिए।

जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको हो।

दोषी ठहर गरिए पनि सजाय भने तोक्न बाँकी छ। सजाय निर्धारणका लागि माघ २५ मा पेसी तोकिएको भट्टराईले बताए। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने चलन छ।

कृषि विज्ञका रूपमा चिनिएका राईले बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको गत वैशाखताका सार्वजनिक भएको थियो।

७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा छुने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न शरीर देखाएर अश्लील गतिविधि गर्ने गरेको किशोरीहरूले बताएका थिए।

२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको माग दाबी गरिएको थियो।

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अनुसार कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो।

उक्त कानुनमा भएको व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिने उल्लेख छ।

यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। यसैगरी, यौनजन्य मनसायले संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *