नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीबाट लिपुलेक, लिम्पियाधुराको विषयमा उठाएको प्रश्नको जवाफमा उनले सो कुरा बताए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा कूटनीतिक संवादमार्फत समाधान गर्ने र त्यसमा बेलायतको पनि राय सुझाव लिने बताए।
यसैबीच, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शाहको नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै माफी माग्नुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ भनेर संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य रहेको उल्लेख गरे। उनले यो अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमा माग्न माग गरे।
