युवा भनेको नवीन सोच पनि हो

इलाम सदरमुकाममा “इलाम महोत्सव-२०८३” सम्पन्न भएलगत्तै नेपाल पत्रकार महासङ्घ, इलाम शाखाका पूर्वसभापति सटेन्द्र जवेगुले आफ्नो फेसबुकमा अभिमत राखे, “Ilam Development: Orange and Green Economy” आज इलाम साहित्य महोत्सवमा माननीय निश्कल राईलाई १ घण्टा सुनेपछि अन्तिम निष्कर्ष- इलामले सही नेतृत्व चुनेको रहेछ।

त्यस्तै, डा. अरुण नेपालले निश्कल राईको प्रस्तुतिमाथि आफ्नो फेसबुकमा अभिमत राख्दै निष्कर्ष निकालेका छन्, ‘उनको यस्तो नवीन सोच, चिन्तन र शैलीले मेरो मन पनि निकै छोयो। युवा पुस्ताप्रति थप आशा र भरोसा जगायो।’

गत वैशाख १८ र १९ गते इलाममा सम्पन्न इलाम महोत्सवको पाँचौँ संस्करणको अन्तिम सत्रमा इलाम क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य निश्कल राईले “इलामको विकास र सुन्तला तथा हरित अर्थतन्त्र” विषयमा आफ्नो धारणा राखेका थिए। माननीय राईले त्यहाँ के भने भन्ने विस्तृतमा सुन्न त पाइएन तर कार्यक्रममा सहभागीहरूको प्रतिक्रिया सुन्दा आयोजकहरूको विषय र वक्ताको छनोटको सामयिकतामाथि राम्रै न्याय भएछ भन्ने लाग्यो।

२०८१ मङ्सिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारका क्रममा कीर्तिपुरको एउटा आमसभामा गगन थापाले बोलेको कुरालाई हावा भन्दै निकैले खिसीट्युरी गरेका थिए सामाजिक सञ्जालमा, हाल चल्तीको भाषामा भन्दा ट्रोल बनाएका थिए तर निर्वाचन सकिएपछि धेरै विज्ञहरूले थापासँग हाँमा हाँ मिलाएपछि कुरा काट्नेहरूले आफ्नै जिब्रो टोके होलान्।

त्यहाँ गगनले भनेका थिए, “कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरू अबको ५, ६, ७, ८ वर्षपछि कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्। यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन्। त्यस्ता तन्नेरी हामी बनाउन सक्छौँ।”

गगनको कथनलाई ट्रोल बनाएको देखेर मलाई एउटा पुरानो प्रसङ्गको सम्झना भयो। २०४६ को जनआन्दोलन सफल भएपछि शरदचन्द्र शाह सुटुक्क देश छाडेर हिँडेका थिए। सङ्गापुरतिर छन् भन्ने हल्ला सुनिन्थ्यो। २०४९ तिर होला त्यहाँबाट आएर उनले तत्कालीन सरकारसमक्ष बनेपामा आईटी पार्क बनाउने प्रस्ताव राखे तर सरकारले चासो दिएन र उनी पुनः बाहिरतिरै लागे भन्ने सानो समाचार आयो। त्यस बेला आईटी पार्क के हो भन्ने मलाई पटक्कै थाहा थिएन तर मलाई लाग्यो त्यो शाह काबिल मानिस हो, त्यसले पक्कै कुनै गतिलै प्रस्ताव ल्याएको हुन सक्छ। सरकार उसका प्रति पूर्वाग्रही भएर पो उसको कुरा सुनिएन कि!

त्यसको केही पछि भारतको हैदरावादलाई हाईटेक सिटी बनाइयो’- “साइबरावाद”। त्यसपछि मैले त्यो के रहेछ भनेर खोजीखोजी पढ्न थालेँ, केही बुझियो। नेपालमा ई-बिजनेस चल्न थालेको थाहा पाएपछि मैले इलामको एक दैनिकमा एउटा स्टोरी लेखेको थिएँ। त्यसको शीर्षक “अमेरिकाबाट दसैँलाई खसी”- यस्तै थियो। त्यसमा अमेरिकामा रहेको छोराले दसैँका लागि काठमाडौँ आफ्नो घरमा रहेका आमा-बाबुलाई घोर्ले खसी पठाइदिएको कथा हालेको थिएँ। इन्टरनेटमा काठमाडौँको खसीबजारमा रोजेर आफ्नो घरको ठेगानामा खसी पुर्‍याइदिन भन्दै त्यसको रकम उतैबाट भुक्तान गरिएको कुरा लेखिएको थियो। केहीले त्यसलाई विज्ञान कथाका रूपमा लिएछन्।

अब जाऊँ मूल विषयतिर। अङ्ग्रेजीमा “ग्रीन इकोनोमी” र “अरेन्ज इकोनोमी” जस्ता शब्दावलीले आर्थिक विकासका दुई फरक तर एक अर्काका परिपूरक अर्थतन्त्रलाई बुझाउँछन्। तिनै शब्दावलीलाई नेपालीमा “हरित अर्थतन्त्र” र “सुन्तला अर्थतन्त्र” भनियो। झट्ट सुन्दा हामीलाई हरित अर्थतन्त्र भनेको कृषिसँग सम्बन्धित अर्थतन्त्र होला भन्ने लाग्छ, त्यो हो पनि र त्यति मात्रै होइन पनि।

हरित अर्थतन्त्रले वातावरणमैत्री, दिगो र समावेशी तथा समतामूलक विकासलाई प्राथमिकता दिने आर्थिक प्रणालीलाई जनाउँछ जसले आर्थिक वृद्धिका साथै प्राकृतिक स्रोतको संरक्षण र प्रदूषण न्यूनीकरणमा जोड दिन्छ। त्यस्तै नवीकरणीय ऊर्जा, जैविक कृषि र हरित रोजगारी यसको प्राथमिकतामै पर्छ। त्यसकारण हरित अर्थतन्त्र फगत कृषि कर्म होइन।

त्यस्तै, सुन्तला अर्थतन्त्र भन्दा सुन्तला खेती भनेजस्तो लाग्न सक्छ, त्यो त दिगो कृषिअन्तर्गत नै पर्ने भएपछि त्यसलाई छुट्टै नाम किन दिइन्थ्यो र! यो त मानिसको सिर्जनशीलता, कल्पनाशीलता, कलाकारिता, बौद्धिक सम्पत्ति र सांस्कृतिक अभिव्यक्तिमा आधारित आर्थिक क्रियाकलापले सिर्जना गर्ने अर्थतन्त्र हो।

हरित अर्थतन्त्रका मुख्य चार आयाम छन्- दिगो कृषि र वन, स्वच्छ ऊर्जा, हरित यातायात र फोहोर व्यवस्थापन तथा चक्रीय उपयोग। यस प्रक्रियामा हरित रोजगारीको सिर्जना हुन्छ। दिगो कृषिलाई एक प्रकारले हाम्रो परम्परागत ग्रामीण कृषि कर्म जस्तो भने पनि हुन्छ। आधुनिक भनिने कृषिमा रासायनिक मल, वर्णशङ्कर बीउ र विषादीको प्रयोग गरिन्छ। यथासम्भव रैथाने बीउ, जैविक मल र आवश्यक परे जैविक विषादी मात्रैको प्रयोग गरी गरिने कृषि दिगो कृषि हो। यसअन्तर्गत नै वन संरक्षण र विस्तार पर्दछ। वनको सम्बन्ध कृषिसँग मात्रै होइन वातावरणसँग पनि उत्तिकै छ।

हाल इन्धनका लागि अधिकतर कोइला वा पेट्रोलियम पदार्थको प्रयोग गरिन्छ। यसबाट कार्बन उत्सर्जन हुने भएकाले वातावरणलाई विनाश गर्दछ। अतः हरित अर्थतन्त्रमा कोइला वा पेट्रोलियम पदार्थको सट्टा सौर्य, जलविद्युत् र वायु जस्ता नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिइन्छ।

परम्परागत रूपमा यातायातका साधनमा पेट्रोलियम पदार्थको प्रयोग गरिनाले तिनबाट उत्सर्जन भएको कार्बनका कारण वातावरणमा ह्रास आइरहेको तथ्यलाई ध्यानमा राखेर यस्ता साधन सबैलाई विद्युतीय ढाँचामा परिवर्तन गर्नु हरित अर्थतन्त्रको अर्को आयाम हो।

शहरीकरण बढ्दो अवस्थामा छ। त्यस्तै प्लास्टिकजन्य पदार्थको उपयोग पनि बढिरहेको छ। घरबाट निस्कने फोहोरलाई राम्रो व्यवस्थापन गर्न सकिएन भने त्यसबाट मानव स्वास्थ्य र वातावरण दुवैमा नकारात्मक प्रभाव पर्दछ। अतः हरित कृषिले फोहोरको व्यवस्थापनमा चक्रीय पद्धतिको पैरवी गर्दछ। यसअन्तर्गत कुहिन सक्ने फोहोरलाई कम्पोस्टमा परिणत गर्ने र नकुहिने फोहोरलाई पुनः प्रयोगयोग्य बनाउने विधि अवलम्बन गरिन्छ। सङ्क्षेपमा उपलब्ध स्रोतको वातावरण अनुकूल बुद्धिमत्तापूर्ण उपयोग गर्दै दिगो आर्थिक वृद्धि हासिल गर्ने उद्यमलाई हरित अर्थतन्त्र भन्न सकिन्छ।

विसौँ शताब्दीमा गरिबी र भोकमरीले आक्रान्त जनसङ्ख्यालाई खुवाउन उपलब्ध जमिनमा अधिकाधिक उत्पादन कसरी गर्ने भन्ने चुनौती थियो। त्यसैलाई सम्बोधन गर्न वर्णशङ्कर बीउ, रासायनिक मल, कीटनाशक औषधि र ठूला सिँचाइ आयोजनाहरू र मेसिनहरूको माध्यमले खासगरी गहुँ र धान उत्पादनमा क्रान्ति नै ल्याइयो तर यसले वातावरणमा एकदम नकारात्मक असर पर्न गयो। यसले विभेद र असमानता समेत बढायो। त्यसैको विकल्पको खोजीमा विकसित अवधारणा हो हरित अर्थतन्त्र।

हरित अर्थतन्त्रको अवधारणा ब्रिटिस वातावरणीय अर्थशास्त्रीहरूले विकसित गरेका हुन्। सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीसँगै संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले यस अवधारणालाई जोडदार ढङ्गले अगाडि बढायो। यस अभियानमा इ. एफ. सुमेकर, डेभिड पियर्स, ग्रो हार्लेम ब्रुन्डल्यान्ड जस्ता अर्थशास्त्रीहरूको योगदान छ।

नेपालका सन्दर्भमा हरित अर्थतन्त्रको अवधारणा ढुङ्गो खोज्दा देउता मिले सरहको छ। किनभने वातावरण विनाशका कारण आएको जलवायु परिवर्तनबाट सिर्जित विश्व उष्णीकरणका कारण हिमालयको हिउँ तीव्र गतिमा पग्लिने, हिमतालहरू फुट्ने, पानीका मुहानहरू सुक्ने, खण्डवृष्टि, अतिवृष्टिका कारण बाढी पहिरो र डुबान जस्ता समस्या नेपालको सामु राक्षसी स्वरूपमा उभिएका छन्।

रोजगारीको खोजमा युवा जनशक्ति विदेश पलायन हुनाले गाउँघरमा खेतीयोग्य जमिन बाँझै रहन थालेका छन्। यस्तो अवस्थामा हरित अर्थतन्त्रको भावनाअनुरूप जैविक कृषि प्रणाली, जडीबुटी खेती, पर्यटन उद्यम, स्वच्छ ऊर्जा, विद्युतीय उपकरणहरूको उपयोग गरेर वातावरणको संरक्षण गर्दै प्राकृतिक स्रोतको सर्वोत्तम परिचालनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।

रोजगारीको राम्रो अवसर आफ्नै ठाउँमा मिलेपछि युवाशक्ति गाउँमै अडिन सक्छ। गाउँमा उद्यमशीलता बढ्छ। गरिबी घट्छ। यसरी हाम्रो अर्थतन्त्र अपेक्षित रूपले माथि उठ्न खासै समय लाग्दैन भने अर्कातिर वातावरणको संरक्षण हुन्छ। हामी अझ ठूलो परिमाणमा कार्बन व्यापार गर्न सक्छौँ। प्राकृतिक प्रकोपमा ह्रास आउनाले जनधनको क्षति नियन्त्रण हुन्छ।

सुन्तला अर्थतन्त्रले मानवीय प्रतिभा, सिर्जनशीलता, सीप र कार्यकुशलतालाई समृद्धि आर्जनको मुख्य स्रोत मान्दछ। त्यसकारण यसलाई सिर्जनात्मक अर्थव्यवस्था भने पनि हुन्छ। यसले कला र संस्कृतिलाई अर्थव्यवस्थासँग जोड्छ। मानवमा अकल्पनीय सम्भावना रहेको हुन्छ।

अनुकूल वातावरण दिन सके त्यो सम्भावना प्रस्फुटित हुन्छ। बौद्धिक सम्पत्ति र सांस्कृतिक सम्पदाले आर्थिक क्रियाकलापलाई टेवा दिन्छ। मानवीय क्षमतालाई अथाह सम्भावनाको भण्डार मान्ने यो शब्दावलीको पहिलो प्रयोग जोन हकिन्सले गरेका थिए भने यस अवधारणालाई सन् २०१३ मा अन्तरअमेकाली विकास बैङ्कका विशेषज्ञ फेलिप बुइत्रागो र इभान डुकेले “दि अरेन्ज इकोनोमी: एन इन्फाइनाइट अपर्चुनिटी” नामक प्रकाशनमार्फत विश्वसमक्ष विस्तार गरेका हुन्। विज्ञहरू भन्छन्, अर्थशास्त्रमा सुन्तला रङले सिर्जना, सांस्कृतिक विविधता र आर्थिक भविष्यको प्रतीकात्मक स्वरूप दर्साउँछ।

सुन्तला अर्थतन्त्रमा डिजिटल प्रविधिको भरमग्दुर उपयोग गरिन्छ। यस क्षेत्रमा कला, फिल्म, टेलिभिजन, एनिमेसन, गेमिङ, डिजाइन, फेसन, सङ्गीत, हस्तकला वा हस्तशिल्प आदि पर्दछन्। यसपालि कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित जुरी अवार्ड जितेर फर्केको नेपाली फिल्म “एलिफेन्ट्स इन द फग” को टिमलाई स्वागत गर्न दुई मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुले सुन्तला अर्थतन्त्रको यात्रालाई दर्साउँछ।

सुन्तला अर्थतन्त्रको वर्तमान आर्थिक चित्र कस्तो छ त भन्ने बारेमा डा. श्रीमणिराज खनाल गोरखापत्रमा (२०८४ जेठ १०) लेख्छन्, “संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनका अनुसार सिर्जनशील अर्थतन्त्र विश्वव्यापी रूपमा वार्षिक करिब छ प्रतिशतका दरले विस्तार भइरहेको छ। दक्षिण कोरियाले के-पप र ‘कोरियन वेभ’ मार्फत वार्षिक १० अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा आर्जन गर्छ।

भारतको फिल्म उद्योगले प्रत्यक्ष रोजगारीमा मात्र करिब पाँच लाख मानिसलाई समेट्छ भने ब्रिटेनको सिर्जनशील उद्योग क्षेत्रले वार्षिक एक सय अर्ब पाउन्डभन्दा बढी योगदान गर्छ। एसियामा इन्डोनेसिया, थाइल्यान्ड र श्रीलङ्काले पनि सांस्कृतिक पर्यटन, हस्तकला र डिजिटल सामग्री निर्यातलाई राष्ट्रिय प्राथमिकतामा राखेका छन्।

भारतमै ‘क्रिएटिभ इन्डिया’ नीतिअन्तर्गत एनिमेसन, गेमिङ र भिजुअल इफेक्ट्स उद्योगमा लगानी बढिरहेको छ। आजको विश्वमा सिर्जनशीलता विकास विलासिता होइन, विकासको अपरिहार्य इन्धन बनिसकेको छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *