सगरमाथा दिवसमा पदयात्रीको आत्म-संवाद

फेरिचे र कालापत्थरको त्यो चिसो हावा र हिजो मे २९, सगरमाथा दिवस।

क्यालेन्डरका पानाहरू पल्टिँदै गर्दा मेरो मानसपटलमा भने सगरमाथा आधार शिविरसम्मको त्यो अविस्मरणीय यात्राका दृश्यहरू  भिडियोझैँ झलझली नाचिरहेका छन्। झ्यालबाट बाहिर हेर्छु, काठमाडौँको कोलाहल छ। तर आँखा चिम्लिनेबित्तिकै म फेरि खुम्बुको विशाल लेकाली छटासँगै निलो आकाश र सेताम्मे हिउँको साम्राज्यमा पुग्छु, जहाँ उभिएर मैले पहिलोपटक पृथ्वीको सर्वोच्च शिर- सगरमाथालाई नजिकैबाट नियाल्ने सौभाग्य पाएको थिएँ।

सगरमाथा दिवसको विशेष सन्दर्भमा, मेरो छाती गौरव र आँखा हर्षका आँसुले भरिएका छन्। आधार शिविर र कालापत्थरमा बिताएका ती पलहरू पदयात्रा मात्र थिएनन्, त्यो त प्रकृतिको सबैभन्दा दिव्य र विराट रूपसँग मेरो साक्षात्कार थियो।

खुम्बु क्षेत्रको पदयात्रा गर्दा मैले महसुस गरेँ- सगरमाथा नेपालको पहिचान मात्र होइन, यो त सम्पूर्ण मानव जातिको साहस र एउटा साझा सपनाको नाम रहेछ। नाम्चे, तेङ्बुचे र थोक्ला भन्ज्याङ पुग्ने कठिन उकालो काट्दै गर्दा भेटिएका विदेशी पदयात्रीहरूका आँखामा सगरमाथा हेर्ने जुन व्यग्रता थियो, त्यसले मलाई पाइला-पाइलामा स्तब्ध बनायो।

“यो हिमाल होइन, यो त पृथ्वीको जीवित भगवान् हो,” आधार शिविरमा भेटिएका एक जर्मन नागरिकले मलाई भनेका थिए।

वास्तवमै, सगरमाथाको त्यो दिव्य सौन्दर्य अद्वितीय छ। बिहानीको पहिलो सूर्यको किरण जब चोमोलुङ्माको हिउँ मैदानमा ठोक्किएर सुनौलो रङ्गमा परिणत हुन्छ, तब लाग्छ– प्रकृतिले यहाँ आफ्नै हातले स्वर्णमुकुट पहिराइदिएको छ। विश्वभरका आरोहीहरूका लागि यो चुचुरो एउटा यस्तो चुनौती हो, जसलाई जितेर उनीहरू आफ्नो जीवनको सार्थकता भेट्छन्। कैयौँको कठोर साधना, शेर्पाहरूको अद्वितीय साहस र अनगन्ती आरोहीहरूको सफलताको कथा यो हिउँको ढिस्कोभित्र लुकेको छ। त्यो गौरवमय पल सम्झँदा आज पनि मेरो जीउ सिरिङ्ग हुन्छ।

यसपटक सगरमाथा दिवसकै आसपास एउटा सुखद तर सोच्न बाध्य पार्ने समाचार आयो- नेपालतर्फबाट एकैदिन २७४ जना आरोहीले सफलतापूर्वक सर्वोच्च शिखर चुमे। काठमाडौँका तारे होटलदेखि सञ्चारमाध्यमहरूमा खुसियाली मनाइयो, बधाईको ओइरो लाग्यो। एउटा नेपाली हुनुको नाताले मेरो मन पनि हर्षित भयो।

तर, यो खुसियाली धेरै बेर टिक्क सकेन। सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा हिमालबाट आएका तस्बिरहरूले मेरो मन चसक्क बनायो। “हिलारी स्टेप” भन्दा तल आरोहीहरूको लामो लाइन, मानौँ कुनै सहरको ट्राफिक जाम होस्! अक्सिजनको सिलिन्डर ढाडमा बोकेर, मृत्यु र जीवनको दोसाँधमा, शून्यभन्दा निकै तलको तापक्रममा मानिसहरू घण्टौँ पालो पर्खिरहेका थिए। आरोहीहरूको अधैर्य प्रतीक्षा र कति चिसोले कठ्याङ्ग्रिएर त कति चिप्लिएर मृत्युको मुखमा पुगेका वीभत्स दृश्यहरूलाई पैतालाले किचेर अगाडि बढ्ने आरोहीहरूको सपना, त्यो सर्वोच्च शिखरबाट देखिने अभूतपूर्व दिव्य सौन्दर्य देख्ने चाहना कति तृषित थियो, कति व्याकुल थियो?

यी तस्बिरहरूले नेपाल सरकार र पर्यटन निकायको व्यवस्थापनमाथि पुनः एउटा गम्भीर प्रश्नचिह्न खडा गरिदिएका छन्। “पैसा” र “रोयल्टी” को प्रलोभनमा परेर एकै दिन सयौँ आरोहीलाई शिखरमा जान अनुमति दिने हाम्रो नीति कति सुरक्षित छ? के हामीले सगरमाथालाई एउटा पवित्र हिमालका रूपमा हेरिरहेका छौँ कि डलर कमाउने “पर्यटकीय मेला” बनाउँदैछौँ?

यहीँनेर मेरो साहित्यिक मन भावुक भई गम्भीर आत्म-संवादमा डुब्छ। यदि आरोहण दलहरूले यसरी नै व्यापारिक स्वार्थका लागि सगरमाथा शिखरलाई एउटा “फेसन” वा “चेकलिस्ट” को रूपमा मात्र “चुनिरहने” र “चुसिरहने” हो भने, आरोहीहरूको अनियन्त्रित भीडले सगरमाथालाई कतिन्जेल सर्वोच्च चुलीका रूपमा, यसको मौलिक र सर्वोच्च रूपमै राखिरहन सक्ला?

सगरमाथाको सर्वोच्चता यसको उचाइमा (८८४८.८६ मिटर) मात्र छैन, यसको सर्वोच्चता त त्यहाँको एकान्त, त्यहाँको पवित्रता र मानव पदचापभन्दा टाढाको दिव्य रहस्यमा छ। जब हामी त्यहाँ बजार खडा गर्छौँ, जब त्यहाँ फोहोरको थुप्रो र मानिसहरूको अस्वस्थ प्रतिस्पर्धा सुरु हुन्छ, तब सगरमाथाको आत्मा रुन्छ।

पर्यावरणीय सङ्कट गहिरिँदै गइरहेको छ। हिउँ पग्लिएर सेता हिमाल होइन, काला पत्थरहरू देखिन थालेका छन्। मानवीय चाप, फोहोरमैला र प्लास्टिकका कारण “डेथ जोन” प्रदूषित बन्दै गएको छ। गरिमाको ह्रास हुँदै हिमाल चढ्नु अब आत्म-खोज रहेन, यो त एउटा सामाजिक सञ्जालको “अहङ्कार” सन्तुष्ट गर्ने माध्यम बन्न थालेको जस्तो लाग्छ।

म आधार शिविरको चिसो ढुङ्गामाथि बसेर अगाडि फैलिएको खुम्बु आइसफलको त्यो भयानक र सुन्दर रूपलाई हेरेको क्षण सम्झिन्छु। अनि मेरो मनमा एउटा गम्भीर र कारुणिक प्रश्न उब्जिन्छ- यो कस्तो साहसी यात्रा हो? जहाँ पाइला-पाइलामा मृत्यु लुकेर बसेको छ, जहाँ प्रकृतिले पलपलमा मानिसको धैर्य र जीवनको परीक्षा लिइरहेको हुन्छ, त्यहाँ मृत्युको कुनै डर छैन! आँखाअगाडि सेताम्मे हिउँको चिहान बन्न सक्ने क्रूर यथार्थ हुँदाहुँदै पनि, त्यो सर्वोच्च उचाइलाई एकपटक चुमेर फर्किने कस्तो दृढ अठोट हो यो? हिम-आरोहणको अन्तर्य भन्नु मृत्युञ्जयी साहस कि अतृप्त तृष्णा हो?

त्यो अनकन्टार सेतो मरुभूमिमा, शून्यभन्दा निकै तलको हिकाउने चिसोमा, जोखिमले ज्यान कुन बेला कुन खोचमा पुग्छ भन्ने कुनै अत्तोपत्तो हुँदैन। तथापि, संसारभरिका आरोहीहरूको यो कस्तो अनौठो मरिहत्ते हो? हिउँको त्यो चिप्लो, ठाडो र कहालीलाग्दो उकालोलाई उनीहरूले आफ्नो जीवनको अन्तिम लक्ष्य र अन्तिम गन्तव्य बनाइरहेका छन्। लाग्छ, त्यो हिउँको थुप्रोमा उनीहरू आफ्नो अस्तित्वको विसर्जन गर्न वा त्यसलाई जितेर अमर हुन तछाडमछाड गरिरहेका छन्।

त्यहाँ न हिउँबाट चिप्लिएर लडेर मरिएला भन्ने कुनै डर छ, न त शरीरलाई भोक लागेको वा प्यास जागेको कुनै मानवीय तृष्णा नै बाँकी रहन्छ। सबै भौतिक आवश्यकताहरू हिउँझैँ जम्छन् र बाँकी रहन्छ त केवल त्यो शिखरको बिन्दुलाई छुने एउटा अदम्य चाहना। त्यो कठिन घडीमा उनीहरूका लागि संसारको कुनै वैभव, कुनै नाता र कुनै लोभको अर्थ रहँदैन। मानौँ, त्यो ठाडो उकालो नै उनीहरूको मोक्षको मार्ग हो, जहाँ पुगेपछि मानिसले आफ्नो सम्पूर्ण अहङ्कार हिउँमै छोडेर आउँछ।

सगरमाथा दिवसको पूर्वसन्ध्यामा, यसरी आफ्नो ज्यान हत्केलामा राखेर सगरमाथालाई चुमेर फर्किने ती साहसी आरोहीहरूको अद्भुत साहसप्रति म नतमस्तक त हुन्छु, तर मेरो मुटु फेरि एउटा अदृश्य पीडाले निचोरिन्छ।

यी साहसी आँखाहरू र दृढ पाइलाहरूको स्वागत गर्दागर्दै आज सगरमाथा थाकिसकेको छ। म सोध्छु- सगरमाथाले मानव आकाङ्क्षाको यस्तो अनियन्त्रित भीड कतिन्जेल र कहिलेसम्म धानिरहने हो?

म आफ्नै प्रश्नहरूको घेराबन्दीमा पर्छु। हिमालको मौनता कहिले भङ्ग हुन्छ? एउटा साधकले एकान्तमा प्रकृतिको प्रार्थना गर्नुपर्ने थियो, त्यहाँ आज मानिसहरूको अस्वस्थ प्रतिस्पर्धाको लाइन लागेको छ। सहनशीलताको सीमा कहिले तोडिन्छ? करोडौँ वर्षदेखि अटल रहेको यो नीरव हिम-शिखरले मानिसको पैतालामुनि कतिन्जेल आफ्नो अस्मिता जोगाएर राख्न सक्ला?

सगरमाथा दिवस मनाइरहँदा, ती मृत्युरूपी उकालो काट्ने साहसी आरोहीहरूको कथा लेख्दै गर्दा, हामीले सगरमाथाको यो मौन क्रन्दनलाई पनि सुन्नैपर्छ। यो सर्वोच्च चुली केवल मानिसको कीर्तिमान राख्ने “कागजको पाना” होइन, यो त पृथ्वीको एउटा जीवित र संवेदनशील आत्मा हो। यसको सहनशीलताको बाँध टुट्नुअघि नै, यसको भीडलाई रोकेर यसलाई फेरि उस्तै पवित्र, एकान्त र सर्वोच्च रहन दिनु नै यो धर्ती र मानव जातिको कल्याण हुनेछ।

आधार शिविरमा बिताएको त्यो चिसो रात र बिहानै कालापत्थरबाट सगरमाथालाई ढोग्दाको त्यो पवित्र अनुभूति म कहिल्यै बिर्सन सक्दिनँ। सगरमाथा दिवस मनाइरहँदा पुराना सफलताका “कीर्तिमान” हरू मात्र गन्ने होइन, बरु यो हिमालको अस्मिता जोगाउने कसम खानुपर्छ।

आरोहीहरूको भीडले सगरमाथाको बैँस, यसको अलौकिक सौन्दर्य र शान्तिलाई कुरूप नबनाओस्। सगरमाथालाई सगरमाथाकै रूपमा रहन दिऊँ- एकदमै शान्त, एकदमै दिव्य र मानव अहङ्कारभन्दा धेरै माथि। आगामी पुस्ताले पनि सगरमाथालाई व्यापारिक होइन, पृथ्वीको सर्वोच्च र पवित्र मुकुटका रूपमै देख्न पाउनुपर्छ। यही नै आजको सगरमाथा दिवसको सच्चा सन्देश र मेरो यात्रा अनुभूतिको निष्कर्ष हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *