सुकुम्बासी हटाएकोमा प्रधानमन्त्रीविरुद्ध उजुरी
काठमाडौं। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई जबरजस्ती विस्थापन गरी आत्महत्यासम्म पुग्न बाध्य बनाएको आरोपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत जिम्मेवार पदाधिकारीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।
बाजुराका धर्मराज तिमिल्सिनाले आयोगमा निवेदन दिँदै वैकल्पिक पुनःस्थापनाको व्यवस्था बिना नै डोजर प्रयोग गरेर घरटहरा हटाइएको, २४ घण्टाभित्र स्थान खाली गर्न दबाब दिइएको र त्रासपूर्ण वातावरण सिर्जना गरिएको आरोप लगाएका छन् । यस्तो कार्य संविधान र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी मान्यताविपरीत भएको दाबी उनले गरेका छन् ।
उजुरीमा भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित गरिएको उल्लेख छ । यस कार्यबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र अपांगता भएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएको निवेदनमा जनाइएको छ ।
विस्थापितहरूलाई राखिएका अस्थायी होल्डिङ सेन्टरमा बासी खाना, फोहोर पानी, अव्यवस्थित बसोबास र न्यूनतम मानवीय सुविधासमेत अभाव रहेको दाबी गरिएको छ । त्यस्तै, बालबालिकाको पढाइ प्रभावित भएको, धेरैले रोजगारी गुमाएको र मानसिक तनावका कारण दुई जना भूमिहीन नागरिकले आत्महत्या गरेको समेत निवेदनमा उल्लेख छ । निवेदक तिमिल्सिनाले घटनाको स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आयोगसँग माग गरेका छन् ।
