धानको समर्थन मूल्य तोकियो
फाइल तस्बिर
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गर्ने निर्णय गरेको छ। यसले दुई देशबीचको ऊर्जा व्यापार र कनेक्टिभिटीलाई अघि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। नयाँ मूल्य सूची अनुसार मोटा धानको मूल्य प्रति क्वीन्टल रू ३,६६० र मध्यम धानको मूल्य प्रति क्वीन्टल रू ३,८६० तोकिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको ‘सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनलाई सरकारले सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय भएको छ।
