‘बाँदर आतङ्क’ र त्यसबाट मुक्ति
नेपालको पहाडी भेगका विभिन्न ठाउँमा बाँदरले आतङ्क मच्चाएर मानिसको बिचल्ली भइरहेकाले त्यसको तत्काल व्यवस्थापनको माग गर्दै संसद् र त्यसका समितिहरूमा निकै सांसदहरूले कुरा उठाए। एक सांसदले त एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी नै दिन भ्याए। वास्तवमा गत आमनिर्वाचनताका नै निकै स्थानका मतदाताले उम्मेदवारहरू समक्ष यो कुरा राखेका थिए। त्यसैले पनि संसद्मा यो कुरा उठ्नु स्वाभाविक हो।
आफू इलामको भएकाले त्यहाँका कुरा नजिकबाट अनुभव गरिएको छ। इलामका धेरै गाउँबाट आफ्ना उर्वर खेतबारी बाँझै छाडेर मानिसहरू झापातिर बसाइँ सरेका छन्। यसरी मधेस पस्न बाध्य परिवारका वृद्ध-वृद्धाहरूलाई त्यहाँको गर्मी खप्न कति सकस परेको छ भनेर साध्य छैन। मेरै गाउँ अर्थात् इलाम नगरपालिकाको ११ नं वडामा धेरैले खेतमा मकै लगाउन छाडे बाँदरबाट जोगाउन नसकेर। निकै परिवार त्यहाँबाट पनि झापातिरै झरिसके र यो क्रम जारी छ।
समाचार माध्यमहरूमा बाँदरका वितण्डाका बारेमा नियमित जसो समाचारहरू आइरहेका छन्। तेह्रथुमको लालीगुराँस नगरपालिकाले गत जेठ १ गते बाँदर खेद्न पालिकाभरि सार्वजनिक बिदा नै दियो। उता इलामको नामसालिङमा धराप थापेर बाँदर समाउँदै खोरमा राखेर पाल्न थालेका श्रव्य–दृश्य सामाजिक सञ्जालमा आइरहेका छन्।
बाँदरले पाकेको बाली खाने मात्रै होइन, मकै त छरेको बीउ नै उधिनेर खानेदेखि लिएर कलिलो गुभो खान मसिना बोट समेत च्यातेर नास गरिदिन्छ। अम्रिसोको टुसा तानेर उस्तै। कतै कतै अलैँची समेत खाइदिएको पनि सुनिन्छ। त्यस्तै घरभित्र पसेर त्यहाँ भएको खाने कुरा खाइदिने र मानिस खासगरी महिलाहरूमाथि जाइलाग्ने गरेका घटना समेत समाचारमा आइरहेका छन्।
बाँदर नेपालमा नयाँ र नौलो जनावर होइन। तीन चार दशक अघिसम्म यसले यसरी बालीनाली नष्ट गरेर मानिसलाई उठिबास लगाएको सुनिँदैनथ्यो। पहाडी भेगमा कताकति खासगरी खोलाका गडतिरतिरका खेतबारीमा लगाइने मकै बालीमा कुनै कुनै साल नजिकका ठूला जङ्गलबाट आएर केही नोक्सानी गरेको नसुनिने पनि होइन तर यो समस्या यसरी मानिसको नियन्त्रणभन्दा बाहिर पुगेको थिएन। यसो हुनका कारण के के हुन सक्छन् यस लेखमा संक्षेपमा सतही चर्चा गर्ने प्रयास गरिएको छ।
पहिले बाँदर कति खाले हुन्छन्, संक्षेपमा त्यसको चर्चा गरौँ। भौगोलिक आधारमा विश्वका बाँदरलाई वैज्ञानिकहरूले मुख्य दुई ठूला प्रकारमा बाँडेका छन्: नयाँ संसारका बाँदर र पुरानो संसारका बाँदर। पहिलो खाले बाँदर खासगरी दक्षिण र मध्य अमेरिकामा पाइन्छन्। दोस्रो खाले एसिया र अफ्रिकामा पाइन्छन्। संसारभर बाँदरका २६० देखि ३०० प्रजाति रहेको मानिन्छ। नेपालमा मकाका प्रजातिका र लङ्गुर प्रजातिका गरेर जम्मा पाँच प्रजातिका बाँदर पाइन्छन्। कसैले छ प्रजातिका पनि भनेका छन्। मकाका परिवारमा दुई खाले छन्– रातो र आसामी। लङ्गुरमा तीन खाले। हाम्रातिर दुःख दिने बाँदर अधिकांश रातो बाँदर हो। जङ्गली अवस्थामा यसको औसत आयु १२ देखि १५ वर्षसम्मको हुन्छ। रातो बाँदरको गर्भधारण अवधि करिब १६० दिनको हुन्छ र साधारणतया एक पटकमा एउटा मात्र बच्चा जन्मिन्छ। पोथी बाँदर २–४ वर्षमा र भाले ३–५ वर्षमा प्रजनन उमेरका हुन्छन्। बाँदर भाले पोथी दुवैको धेरैसँग समागम हुन्छ। बाँदर दुईदेखि २५० सम्मको समूहमा बस्छ।
रातो बाँदरको शरीर खैरो वा फुस्रो हुन्छ। नितम्ब र अनुहार रातो हुन्छ। बच्चा र अल्पवयस्कको अनुहारमा रातो नहुन पनि सक्छ। रातो बाँदर विभिन्न भौगोलिक क्षेत्रमा र सङ्ख्यात्मक हिसाबले धेरै पाइन्छ। नेपालमा यो तराईदेखि २४ सय मिटरसम्मको उचाइमा जताततै पाइन्छ। पहरे र लङ्गुर बाँदरको दाँजोमा यो प्रजाति मन्दिर, गाउँबस्ती तथा सहरजस्ता मानवनिर्मित क्षेत्रहरूमा बस्न बढी रुचाउँछ।
बाँदरको सङ्ख्या: नेपालमा कति सङ्ख्यामा बाँदर छन् भन्ने तथ्याङ्क हालसम्म उपलब्ध छैन। बाँदरमै विद्यावारिधि गरेका डा मुकेश चालिसेले नेपालमा एक लाख जति बाँदर रहेको अनुमान गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग काठमाडौंद्वारा गत वर्ष ६ वटा प्रदेशका बाँदर पाइने मुख्य मुख्य ठाउँमा गणना भइरहेको समाचार आएको थियो। मधेस प्रदेशमा भने यसअघि नै गणना भइसकेको छ। यो गणनाको योजना बनाउन ७५३ वटै स्थानीय तहलाई आफ्नो क्षेत्रमा बाँदरको उपस्थिति रहे नरहेको जानकारी मागिएको थियो। यो गणनाको रिपोर्ट आएपछि नेपालमा बाँदरको सङ्ख्या मोटामोटी यकिन हुनेछ।
आतङ्कको कारण: नेपालमा उहिल्यैदेखि विभिन्न ठाउँमा बाँदर रहिआएकै हुन् तर हिजोआज जस्तो तिनले मानिसले लगाएको बालीनाली खाइदिएर र नष्ट गरेर दुःख दिएका थिएनन्। हिजोआज किन यस्तो भइरहेको छ भन्नेबारेमा बाँदरका सम्बन्धमा अध्ययन गर्नेहरूले विभिन्न कारणहरू औंल्याएका छन्।
१. वन जङ्गल विनाश: हामीले धेरैतिर प्राकृतिक वन जङ्गल मास्दै जमिन आवाद गर्दै र बस्ती बसाउँदै गयौँ। यसरी बाँदरको बासस्थान सँगै ती जङ्गलमा पाइने फलफूल कन्दमूल लगायतका बाँदरका खाद्य भण्डार मासिदियौँ। पछि सामुदायिक वन भनेर हामीले लगाएका वनमा छिटो बढ्ने तर फल नलाग्ने खाले रुखबिरुवा लगायौँ। यसले हाम्रो कुल जमिनको ४७ प्रतिशतभन्दा बढी जमिन वनले ढाके पनि तिनको आहाराको व्यवस्था त भएन। जिउँदो प्राणी आहारा खोज्न हिँड्छ नै।
२. विभिन्न कारणले पहाडमा बस्ती पातलिने र सामुदायिक वन क्षेत्र बढ्नाले बाँदरलाई गाउँतिर आउन सहज भयो।
३. वनमा दुःख गरेर आहारा खोज्नुभन्दा गाउँ पसेर मानिसले लगाएको बाली खानु बाँदरलाई सहज हुँदै गयो।
४. गाउँमा बस्ती पातलिँदा गाउँबाट टाढाका खेतबारी बाँझिन गए, त्यता खाने कुरा नपाएपछि बाँदर बस्तीतिरै एकोहोरिन थाले।
५. पूर्वाधार विकासले पनि बाँदरको बासस्थानमा दखल पारेकाले तिनीहरू गाउँतिर सर्न थाले।
६. वास्तविक गणना नभए पनि बाँदरको सङ्ख्या बढेको गाउँघरका मानिस बताउँछन्। एक कृषि विज्ञका अनुसार प्राकृतिक जङ्गलमा गिठ्ठा लगायतका केही यस्ता जङ्गली कन्दमूल पाइन्छ जसको आहार गर्नाले प्रजनन क्षमतामा ह्रास ल्याउँछ तर हाल ती खाले कन्दमूल मासिँदै गएका छन्।
७. सहरी क्षेत्रमा मन्दिर आदितिर बस्ने बाँदरको सङ्ख्या तीव्र रूपमा बढेको हुन सक्छ। जङ्गलमा बाघ, चितुवा आदिले तिनको सिकार गर्थे, सहरमा संरक्षण भयो। सहरका पत्रु खानाले बाँदरको गर्भ अवधि छोटिँदै गएको एक विज्ञ बताउँछन्।
८. बाघ, भालु, चितुवा जस्ता बाँदरलाई सिकार गर्ने वन्यजन्तुको सङ्ख्या घट्दै जानु।
९. पुराना ठूला रुख धेरै काटिनु जसका हाँगामा बाँदर बास बस्न रुचाउँछन्।
बाँदरको उपयोग र सुरक्षा: बाँदर प्राकृतिक पारिस्थितिक प्रणालीको एउटा हिस्सा हो। त्यसकारण यसलाई जोगाउन आवश्यक छ। नयाँ नयाँ औषधिको अनुसन्धानका क्रममा बाँदरको उपयोग गरिन्छ। बाँदरको शारीरिक बनोट, स्वभाव, बानीव्यहोरा आदि मानवसँग मिल्दाजुल्दा भएकाले औषधि विज्ञानमा यिनीहरू परीक्षणका लागि अति भरपर्दा मानिन्छन्। बाँदरमा ७०० भन्दा बढी परजीवी हुन्छन्। बाँदर नहुने हो भने ती परजीवी मानिसतिर सर्न सक्छन्। बाँदरले जङ्गलको कार्बन सञ्चितिमा मद्दत गर्छ। भनिन्छ बाँदर नहुने हो भने कार्बन स्टकमा १५ देखि २५ प्रतिशतसम्म ह्रास आउन सक्छ।
बाँदर मार्न कानुनी निषेध: नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची–१ मा सूचीकृत संरक्षित स्तनधारी प्राणीहरूमा आसामी बाँदर पनि पर्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रेड लिस्टमा यसलाई समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले आसामी रातो बाँदर मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ। तर सामान्य जङ्गली रातो बाँदर (अन्य प्रजाति) संरक्षित नभए पनि ‘अन्य वन्यजन्तु’ को रूपमा लिएर त्यसलाई मार्नेलाई संरक्षितको सजायको आधा सजाय हुने व्यवस्था छ।
तथापि जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै सरकारले २०८० यता हरेक वर्ष राजपत्रमा सूचना प्रकाशित गर्दै आएको छ। यसअनुसार निजी खेतबारीमा पसेका रातो बाँदरलाई लखेट्न, धपाउन वा पक्रन पाइन्छ। लखेट्ने क्रममा मरेमा, स्थानीय सरकारलाई जानकारी दिएर मुचुल्का उठाएपछि कानुनी कारबाही हुँदैन। पक्रिएको बाँदरलाई वन कार्यालयमा बुझाउनु पर्दछ।
व्यवस्थापनका उपाय: सबभन्दा पहिले बाँदरको सङ्ख्या यकिन गर्नुपर्दछ। त्यसपछि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्दछ।
तत्कालीन उपायमा विभिन्न तरिकाले बाली लगाइने क्षेत्रबाट सामूहिक प्रयत्नमा बाँदरलाई वनतर्फ टाढा लखेट्नु। यसो गर्नमा बन्दुक, ठुलो आवाज आउने तर क्षति नगर्ने विस्फोटक पदार्थ, ड्रोन आदिको प्रयोग गर्न सकिन्छ। यस्तो कार्य गर्न सरकारले सम्बन्धित किसानलाई राहत सहयोग दिनुपर्छ। गाउँमा बाँदर रोक्न गाउँलेबिच गौँडा ढुक्ने पालो प्रथा चलाउनुपर्छ।
वनक्षेत्रको नजिकतिरका खेतबारीमा अदुवा, बेसार, टिमुर जस्ता बाली लगाउनुपर्दछ। यसमा पनि सरकारले अनुदान सहयोग गर्न सक्छ।
धराप थापेर बाँदर समाती बजार केन्द्रतिर पार्क आदि बनाई त्यहाँ राखिदिने। रमिता हेर्न जानेले तिनलाई खान दिन्छन्। यसो गर्दा भालेपोथी अलग राखेर प्रजनन हुन नदिने। त्यस्तै, वन्ध्याकरणको माध्यमले बाँदरको सङ्ख्यालाई नियन्त्रण गर्ने। भारतको उत्तराखण्डतिर यस्तो अभ्यास सफल भएको छ।
दीर्घकालका लागि जङ्गलमा फलफूलका बिरुवा लगाउने, परम्परागत ऐँसेलु लगायतका जङ्गली फलहरूको संरक्षण गर्ने। गिठ्ठा, भ्याकुर, वनतरुल जस्ता कन्दमूलले वनजङ्गल ढाकिदिने।
तर ख्याल गर्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने बाँदर एकदम बाठो जनावर हो। यसका बारेमा निरन्तर अध्ययन गरिनुपर्दछ। यसलाई घरपालुवा बनाएर काममा लगाउन पो सकिन्छ कि? वनपाले, अग्ला रुखका फल टिप्ने, सहरको फोहर सङ्कलन, रात्रिकालीन चौकीदारी आदि काममा लगाउन सकिन्छ कि?
