क्यानाडाको तालमा नेपाली विद्यार्थी बेपत्ता
टोरन्टो। क्यानाडाको अन्टारियोस्थित पाइनरी प्रान्तीय पार्क क्षेत्रको ह्युरोन तालमा गत सोमबार दिउँसो एउटा राफ्ट (नाउ) दुर्घटना हुँदा हराएका एकजना युवकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। उनी विद्यार्थीका रुपमा नेपालबाट क्यानाडा आएर अध्ययन पूरा गरी लण्डन, अन्टारियोमा बस्दै आएको स्थानीय नेपालीले जनाएका छन्।
सार्वजनिक बिदाको दिन साथीहरूसँग छुट्टी मनाउन पुगेका ती युवक अझै नभेटिनुले त्यस क्षेत्रका सम्पूर्ण नेपाली भाषी समुदायस्तब्ध र दुःखी बनेका छन्।
अन्टारियो प्रहरी (ओपीपी) का अनुसार, ‘भिक्टोरिया डे’ बिदाको दिन त्यहाँ घुम्न गएका पाँच जना साथीहरू एउटा राफ्ट लिएर तालको पानीमा गएका र हावाको बहावका कारण उनीहरू चढेको राफ्ट संकटमा परेको थियो।
“सोमबार दिउँसो करिब ३ बजे राफ्टमा सवार व्यक्तिहरू संकटमा परेको खबर प्राप्त भएको थियो”, ल्याम्बटन काउन्टी ओपीपीले भनेको छ, “राफ्ट पल्टिएपछि दुईजना राफ्टमै चढ्न सफल भएको र अरू दुईजना पौडिँदै किनारमा सुरक्षित रूपमा फर्कन सफल भएका थिए।”
पीडित परिवारको गोपनीयताको सम्मान गर्दै पहिचान र अन्य जानकारी प्रहरीले खुलाएको छैन। प्रहरीले पछिल्लो पटक शुक्रबार अपरान्ह खोजी कार्य जारी रहेको मात्रै जानकारी दिएको थियो।
-‘नेपाल टच’ बाट
