कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारी, दाबी गर्दै कांग्रेस

विराटनगर। मधेश प्रदेशको सत्ता समीकरणमा आएको बदलावसँगै त्यसको राजनीतिक पराकम्प कोशी प्रदेशमा पनि पुगेको छ। एमाले-कांग्रेस सत्ता गठबन्धनभित्र कोशी प्रदेशको नेतृत्व फेरबदललाई लिएर केन्द्रदेखि प्रदेशसम्म सरगर्मी बढेको छ।

जेठ ७ गते मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएर एमाले सरकारमा सहभागी भएसँगै कोशीमा पनि नयाँ हलचल सुरु भएको हो ।

हाल कोशी प्रदेश सरकारको नेतृत्व एमाले सचिव हिक्मतकुमार कार्कीले गरिरहेका छन् । तर, कांग्रेसले अबको नेतृत्व आफ्नो हुनुपर्ने दाबी बलियो बनाएको छ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सुनसरीमा आयोजित एक कार्यक्रममा कोशीमा अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । कांग्रेस बजेट आउनुअगावै संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गृहकार्यमा छ ।

एमाले भने तत्काल कांग्रेसलाई नेतृत्व सुम्पन तयार छैन । एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोका अनुसार सुरुवाती सहमति कोशीमा पूर्ण कार्यकाल एमालेले नै नेतृत्व गर्ने भन्ने थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने कोशीको नेतृत्व एमालेकै राखेर मुख्यमन्त्री मात्र फेर्ने पक्षमा छन् ।

कुनै समय अध्यक्ष ओलीका विश्वासपात्र मानिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पछिल्लो समय ओली रुष्ट बनेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट अध्यक्ष ओली पराजित भएपछि ओली-कार्की सम्बन्धमा दरार आएको हो । निर्वाचनका क्रममा मुख्यमन्त्री कार्की र उनका दाजु (केन्द्रीय सदस्य दीपक कार्की) विरुद्ध मतदाता र कार्यकर्ताले ओलीसँगै असन्तुष्टि पोखेका थिए । आफ्नै गृहक्षेत्रमा अध्यक्ष हार्दा पनि कार्कीले नैतिकता नदेखाएको एमाले वृत्तमा चर्चा छ ।

अध्यक्ष ओली अब कार्कीको विकल्पमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *