सम्झेर साँझ: प्रकाश सायमी
प्रकाश सायमीलाई सम्झिँदा मेरो मनमा सबैभन्दा पहिले एउटा सजीव कार्यकक्षको पर्दा खुल्छ– ‘मधुपर्क’ मासिकको त्यो सानो कोठा, जहाँ शब्दहरू धुपका वासना सरह उड्थे र विचारहरू फूलका सौन्दर्य सरह उज्यालो छर्दै फैलिन्थे। म त्यतिबेला ‘मधुपर्क’ मासिक पत्रिकामा कला स्तम्भ लेख्थेँ। उहाँ त्यही कोठामा इतिहासका बिर्सँदै गएका पानाहरूलाई आफ्नै स्वरले पुनर्जीवित गरिरहनुहुन्थ्यो।
कतिपय दिवङ्गत साहित्यकारसँगका रोचक घटना सुनाउनुहुन्थ्यो। त्यसमध्ये शंकर लामिछाने, भूपी शेरचन र हरिभक्त कटुवालका प्रसंगहरू मेरा लागि अत्यन्त चाखलाग्दा विषय हुन्थे। म ध्यान दिएर सुन्थेँ। उहाँलाई ती विगत दिनका गते, महिना, घडीपला सबै कण्ठस्थ हुन्थ्यो। अनि बताउने शैली पनि निकै रसिलो, रोचक र गम्भीर हुन्थ्यो। उहाँ विगतका दिनहरूलाई सरल, सरस र सहज किसिमले व्यक्त गर्न सक्ने खुबी भएका वक्ता र लेखक हुनुहुन्छ भन्ने कुरी मैले धेरै पहिल्यै महसुस गरिसकेको हुँ।
त्यहीँबाट हाम्रो चिनाजानी सुरु भयो– औपचारिक परिचयभन्दा गहिरो, शब्दको माध्यमबाट गाँसिएको हार्दिक आत्मीयताले भरिपूर्ण! उहाँको बोली र व्यवहार अग्रजप्रतिको श्रद्धा जत्तिकै अनुज पुस्तासँगको मित्र-मिजास त्यत्तिकै आत्मीय रहन्थ्यो। उहाँको यही आनिबानीले म पनि उहाँको प्रिय थिएँ।
उहाँ दिवङ्गत स्रष्टाहरूका बारेमा यति रोचक ढंगले कुरा गर्नुहुन्थ्यो कि लाग्थ्यो– ती सबै पात्रहरू उहाँका छेउमै बसिरहेका छन्। क्रान्तिचेतका कालजयी कवि भूपी शेरचनका कवितामा लुकेको विद्रोही करुणा होस् वा शंकर लामिछानेका निबन्धभित्रको सूक्ष्म संवेदना, सायमीले ती सबैलाई सजीव दृश्यझैँ उभ्याइदिनुहुन्थ्यो।
कति घतलाग्दा, कति चखिला उहाँका कुरा सुनेर म मन्त्रमुग्ध हुन्थेँ। कति जानकारी हुन्थे, कति विचारका सिलसिला र कति गहिरो जीवनका दर्शन पोखिएका हुन्थे। जाँदा लाग्थ्यो– म केवल जानकारी लिइरहेको छैन, एउटा साहित्यिक यात्रामा सहभागी भइरहेछु। अन्ततः म गहिरो ज्ञान–गन्तव्यमा सामेल भइरहेछु।
फिल्मी क्षेत्रका सन्दर्भमा त उहाँ विज्ञ नै भइहाल्नुभयो। तर उहाँलाई केवल फिल्मी क्षेत्रमै सीमित गर्नु अन्याय हुन्छ। उहाँ साहित्यमा चिन्तनशील, संगीतमा संवेदनशील, सञ्चार माध्यममा कुशल प्रस्तोता र समग्रमा बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। कविका रूपमा, निबन्धकारका रूपमा, समीक्षकका रूपमा, निर्देशकका रूपमा उहाँको परिचय अनेकौँ तहमा फैलिएको छ।
२०४९–५० सालका ती दिनहरूबाट समय बग्दै २०८२ सालको अन्तिम सीमासम्म आइपुग्दा म फर्केर हेर्छु– सायमी एउटा सक्रिय फिल्मकर्मी मात्र होइन, उहाँ निरन्तर अध्ययनशील र सांस्कृतिक स्मृतिका संरक्षक पनि हुनुहुन्छ। साहित्यिक अध्येता, लेखक, चिन्तक, कुशल उद्घोषक, स्पष्ट वक्ता आदि।
विशेषतः ‘रेडियो सगरमाथा’ मा रहँदा उहाँले नेपाली साहित्यिक वृत्तमा पुनःचेतना भर्नुभएका सुन्दर र सुमधुर क्षणहरू अझै स्मरणीय छन्। शंकर लामिछानेको कृतित्वलाई पुनर्जीवित गराउने अभियान, कृतिहरूको पुनःप्रकाशन र पुरस्कार स्थापनामा उहाँको गहकिलो भूमिका नेपाली साहित्यको इतिहासमा उल्लेखनीय अध्याय हो।
उहाँको अर्को महत्त्वपूर्ण सृजनात्मक कर्म हो– ‘स्वरसम्राट नारायणगोपाल’ नामक जीवनी कृति। यद्यपि यो कृति जीवनी मात्र होइन, यो अनुसन्धान, संवेदना र शिल्पकौशलको संगम हो। २०८१ सालमा ‘काठमाडौँ पब्लिकेसन’ द्वारा प्रकाशित यस पुस्तकको आवरण वरिष्ठ कलाकार शशी शाहले सजाउनुभएको छ। पुस्तकका प्रत्येक अध्यायमा सायमीले अक्षरलाई औजार बनाएर स्वरसम्राटको जीवनका केस्रा–केस्रा पाटाहरू साँध लगाए जत्तिकै अर्जापी–अर्जापी उजिल्याउनुभएको छ।
नारायणगोपाल– जसलाई चिनाइरहनु पर्दैन। “जनताको सहानुभूति भए पुग्छ, कारण जनताको लागि मात्र गाउँछु” भन्ने उहाँका शब्द मात्रै अभिव्यक्ति थिएनन्, त्यो जीवन–दर्शन थियो। सायमीले यही जीवन–दर्शनलाई आफ्नो लेखकीय दृष्टिले समेटेर पाठकका अगाडि उभ्याइदिनुभएको छ। नारायणगोपालका कालजयी गीतहरू अझै जनमनमा गुन्जिरहेकै छन्। तर ती गीतहरूका पछाडि धड्किएको मानवीय हृदयलाई सायमीले शब्दमार्फत स्पर्श गर्नुभएको छ।
प्रकाश सायमीलाई म जब सम्झन्छु– उहाँ एक व्यक्तिको रूपमा देखिनुहुन्न। उहाँ एउटा सेतुजस्तो देखिनुहुन्छ– विगत र वर्तमानलाई जोड्ने, स्मृति र वर्तमान चेतनालाई एकसूत्रमा बाँध्ने। उहाँका शब्दहरूमा अनुसन्धानको दृढता छ। तर त्यसभित्र संवेदनाको न्यानोपन पनि उत्तिकै सिलसिलाबद्ध रूपमा गाँसिएको हुन्छ।
प्रकाश सायमीको चिनारी वा चित्र यत्तिकैमा सीमित हुँदैन। कवितामा उहाँको सशक्त शब्द संयोजन, निबन्धमा प्रखर चेतनाको प्रवाह र कुनै व्यक्तिलाई चिनाउनु पर्दाको समग्र जानकारीको इतिवृत्तान्त उहाँको लेखकीय पहिचानको पाटो हो भन्ने म ठान्छु। त्यही पहिचानको पछिल्लो दस्तावेजको रूपमा प्रस्तुत ‘स्वरसम्राट नारायणगोपाल’ को जीवनका बहुआयामिक पक्ष एउटै सँगालोमा समेटिएर आएका छन्।
सायमीसँगको मेरो त्यो पुरानो चिनाजानी आज स्मृतिको उज्यालो उचाइमा सुरक्षित छ। समय बग्दै जाँदा धेरै अनुहारहरू धमिलो हुन्छन्। समयले नेटो र नेटवर्क काट्दै जाँदा पुराना अनुहारहरू अनायासै बिर्सिँदै गइन्छ। यो स्वाभाविक प्रक्रिया नै हो। यसमा अनौठो मान्नुपर्ने कुनै कारण छैन। तर केही व्यक्तित्वहरू समयले नेटो काटेर गए पनि अझ स्पष्ट र उज्यालो बनेर रहन्छन्।
मलाई लाग्छ– प्रकाश सायमी त्यस्तै उज्यालो व्यक्तित्व हुनुहुन्छ– साहित्य, संगीत, सञ्चार र संस्कृतिको आकाशमा निरन्तर उज्यालो छरिरहने एउटा बहुआयामिक दीप!
