झापामा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति पक्राउ

विराटनगर। झापाको हल्दीबारी गाउँपालिका-५ कञ्चनश्रीमा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । प्रहरीले ४४ वर्षीय गोकर्ण भण्डारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे गोकर्णले आफ्नी पत्नी ३३ वर्षीया उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना लगत्तै प्रहरी सहायक निरीक्षक छविहाङ शेर्माको नेतृत्वमा टोली घटनास्थल पुगेर आरोपित गोकर्णलाई नियन्त्रणमा लिएको थियो ।

पछि जिल्ला प्रहरी कार्यालय झापाबाट डीएसपी खगेन्द्रबहादुर खड्काको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान अघि बढाइएको खड्काले बताए । पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *